अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने बताएका छन्।
सरकारले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएकाले ७ प्रतिशत हासिल गर्न समस्या नहुने अर्थमन्त्री शर्माले बताए।
बिहिबार भएको प्रतिनिधि सभाको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले कोभिड महामारीले थिलथिलो बनाएको अर्थतन्त्रलाई वातावरणीय प्रभावले पनि असर पुर्याएको बताए।
‘क्लाइमेट चेन्जले धेरै धनजनको क्षति पुर्याएको छ।बेमौसमी वर्षाका कारण अर्बौंको क्षति भएको छ', उनले भने।
गत वर्ष मुद्रास्फिति ६.५ प्रतिशत रहेकोमा हाल ४.२ पुगेको उनले जानकारी दिए। यो चिन्ताजनक नरहेकोसमेत उनले दाबी गरे।
हाल बैंकिङ क्षेत्रमा १६ अर्ब तरलता रहेको पनि उनले बताए। चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताए। यसमा पूँजीगत खर्च नहुनु समस्या भएको उनको भनाइ छ।
प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको मन्त्री शर्माले बताए । तर समस्या सुल्झाउन र खर्च गर्ने क्षमता बढाउन पहल गर्ने उनले बताए।
बैठकमा बोल्दै उनले तत्काल ऋण उठाउन आवश्यक नरहेको स्पष्ट पारे।
'ऋण उठाएन भन्ने गुनासो छ। आबस्यक पर्दा पो उठाउने हो,। उनले भने, 'चार सय अर्ब राजस्व उठेको छ। आवश्यक परे उठाउँछौँ।'