नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो।
२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको थियाे।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको उल्लेख गर्दै अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताए।
प्रधानमन्त्री देउवाले भने, 'विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनर्स्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ। भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकूलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं।'
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरू आदानप्रदान भएको बताए।
सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारहरूलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामर्थ्यवान बनाउनुपर्नेमा जोड दिँदै विपद उत्थानशीलताको विकास गर्न विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संरचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन वंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गर्दै नेपालले पुनर्निर्माण तथा पुनर्स्थापनाबाट आफूहरूले पनि सिकेको उल्लेख गरे।
सम्मेलन अन्तर्गतका १० वटा विषयगत सत्रहरू सम्पन्न भएका छन् ।