सातदोबाटोस्थित एआइटिएम कलेजको तेस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको मेरियट होटलमा आयोजित समारोहमा एआइटिएम कलेजले आफ्नो आईएमआईको बीएचएम प्रोग्रामका पचास जना विद्यार्थीलाई दीक्षान्त प्रदान गरेको हो।
विद्यार्थीलाई एआइटिएम कलेजको एफिलिएसन् पार्टनर स्विजरल्याण्डको इन्टरनेसनल म्यानेजमेन्ट इन्स्टिटुटबाट स्नातक प्रमाणपत्र दिइएको थियो। कार्यक्रममा एआइटिएम कलेजका संस्थापक अध्यक्ष डा. श्रीराम भगुत माथे, अध्यक्ष सन्दिप अग्रवाल, उद्योगपति तथा एआइटिएमका प्रर्वन्धक राजेन्द्र खेतान, पर्यटन मानवशास्त्री डा. रमेश राज कुँवर, हानका अध्यक्ष श्रृजना राणा र एआइटिएमका प्रमुख कार्यकारी अधिकृत रोशन राठीको उपस्थित भएका थिए।
कलेजका प्रमुख कार्यकारी अधिकृत रोशन राठीले एआइटिएमको मुख्य लक्ष्य नेपालमा विश्वको उच्च स्तरको शैक्षिक संस्था बनाउने बताए।
‘हरेक वर्ष हाम्रा विद्यार्थी विदेश पलायन हुँदा यसले आर्थिक अवस्थालाई कमजोर बनाउनुका साथै हाम्रा बौद्धिक ज्ञान पनि सँगै पलायन भइरहेको छ। त्यसैले त्यो स्तरको शिक्षा हामीले आफ्नै कलेजमा प्रदान गरिरहेका छौँ,’ उनले भने, ‘नेपालको शिक्षा अवस्थालाई अझ अगाडि लैजान जरूरी छ। किताबी र व्यवहारिक ज्ञानलाई सँगै प्रोत्साहन दिनुपर्छ। त्यसैले विद्यार्थीलाई जागिरको अवसर दिनु हाम्रो पाठ्यक्रमको मूल ध्यानमा छ।’
समारोहमा उपस्थित एआइटिएमका अध्यक्ष सन्दिप अग्रवालले पनि यही कुरालाई जोड दिएका छन्। उनका अनुसार एआइटिएमको लक्ष्य नेपालमा विश्वकै उच्च होटल व्यवस्थापन शिक्षा भित्राएर यहाँका विद्यार्थीलाई स्वदेशमै रोजगारको अवसर दिएर विदेश जान रोक्ने हो। विद्यार्थीलाई रोजगार दिन कलेजले विभिन्न कम्पनीसँग सम्झौता गरिरहेको उनको भनाइ छ।
यसैगरी, कार्यक्रममा उपस्थित भएका उद्योगपति तथा एआइटिएम कलेजका प्रर्वन्धक राजेन्द्र खेतानका अनुसार विश्वबजारमा नेपाली विद्यार्थीको माग बढेसँगै यहाँको शिक्षा क्षेत्रमा लगानी गर्न कुनै जोखिम छैन। यहाँको शिक्षा क्षेत्रको बजार राम्रो भएकाले यसलाई अब उद्योगी क्षेत्रको रूपमा पनि अगाडि लानुपर्ने उनको भनाइ छ।
‘अहिले उद्योगीक क्षेत्रमा हामीले नेपालमै उच्च शिक्षा हासिल गरेका ८० प्रतिशत विद्यार्थीलाई आफ्नो जनशक्ति बनाइरहेका छौँ,‘ राजेन्द्र खेतान भन्छन्, ‘उद्योगले विश्वविद्यालयमा गएर ट्रेनिङ दिने, विश्वविद्यालय आफैँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई अध्ययन गरी त्योअनुसारको विद्यार्थी उत्पादन गर्ने र सरकारसँग मिलेर आवश्यकताअनुसार शैक्षिक सीप सिर्जना गर्नसके हाम्रो राष्ट्रिय अर्थ व्यवस्था र राष्ट्रिय शैक्षिक क्षेत्र बीचको अन्तर पूरा हुनेछ।’
उनका अनुसार प्राइभेट शैक्षिक क्षेत्रअगाडि बढाउन सुरूमा शिक्षालाई उद्योगको रूपमा हेर्नुपर्छ। यसलाई उद्योग बनाउन सके नेपाली विद्यार्थीलाई विदेशमा नभई यहीँ शिक्षा लिन प्रोत्साहन हुन्छ। जनशक्ति उत्पादनमा पनि उत्थान हुन्छ।
अहिले एआइटिएममा प्लस टु, बिएचएम, बि.एससी, सीएसआइटी र एमबीए गरेर चारवटा प्रोग्राम छ। यहाँको बीएचएम प्रोग्राम अन्तर्राष्ट्रिय व्यवस्थापन संस्थान स्विजरल्यान्डसँग सम्बद्ध छ। यो प्रोग्रामले शिक्षा मन्त्रालयबाट स्वीकृत भई त्रिभुवन विश्वविद्यालयबाट समानताको प्रमाण पत्र प्राप्त गरेको छ।