नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले 'फ्लेभर्स अफ कस्मिर' (कस्मिरको स्वाद) फुड फेस्टिभल उद्घाटन गरेका छन्।
अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरेको हो।
भारतीय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडविल एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए।
टाटा मोटर्सद्वारा प्रायोजित यो फेस्टिभल अलफ्टमा डिसेम्बर १० देखि १० दिन (डिसेम्बर १९) सम्म साँझ साढे छ बजेदेखि साढे दस बजेसम्म चल्नेछ।
वेलकम ड्रिङ्कससहित खानाको प्रतिव्यक्ति करबाहेक दुई हजार पाँच सय रुपैयाँ लाग्ने बताइएको छ।
कस्मिरी खानाबाट सुरू गरिने यो फेस्टिभलको पहिलो दिन भारतीय दूतावास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरूले आफ्नो प्रस्तुति पनि राख्नेछन्।
फेस्टिभलको अवधिभर कस्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रणसहित उपलब्ध हुनेछ।
शाकाहारी स्टार्टरबाट सुरू भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ 'नुक' मा उपलब्ध हुनेछ।
प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउदा आफू निकै उत्साहित भएको सिंहले बताए ।
'विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला-ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन्। उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो', उनले भने, 'आउने दिनहरूमा हामी यसरी नै स्पेनिश, टर्किशलगायत अन्य अन्तर्राष्ट्रिय परिकार पनि अलफ्टमा प्रस्तुत गर्नेछौं,' सिंहले भने।