सहरी विकास मन्त्री रामकुमारी झाँक्री हिजोआज सहर सफा बनाउने अभियानमा लागेकी छिन्।
मन्त्री झाँक्री आफैँ पार्कहरुमा पुगेर निरीक्षण गर्ने र विभिन्न विभागहरुलाई तत्काल कामको सुचारु गर्न निर्देशन समेत दिन थालेकी छन्। यसकारण युएन बाग्मती करिडोरको सफाई सुरु भएको छ।
निर्देशन दिने क्रममा मन्त्री झाँक्रीले भनिन् ‘सहर सफा राख्नु हामी सबैको दायित्व हो, तसर्थ सबै एकजुट भएर सहरलाई सुन्दर बनाउने कार्यमा लागौँ।’
केही हप्ताअघि मन्त्री झाँक्री स्वयं उक्त स्थानमा पुगेर अनुगमन गरी निर्देशन दिएकी हुन्। सोही निर्देशन बमोजिम अहिले सरसफाईको काम प्रभावकारी ढंगबाट अघि बढिरहेको छ। जताततै फोहारको डंगुर भएर कुरुप देखिएको युएन पार्कको मुहार फेरिन थालेको छ।
बाग्मती करिडोर आसपासका क्षेत्रमा रहेका फोहोर विस्तारै हट्न थालेका छन्।
सहरको वास्तविक पहिचान भनेकै सफाई र स्वच्छता भएकाले उपत्यकामा देखिएका फोहोर तत्काल हटाएर सुन्दर सहर निर्माण गर्ने मन्त्री झाँक्रीको प्रतिबद्धता छ। साथै उनले कर्मचारीहरुलाई आफ्नो काम समयमा सम्पन्न गर्न समेत निर्देशन दिएकी छन्।