काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले महानगरभित्रका १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन्।
२७औं महानगर दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए।
२०७४ साल जेठबाट महानगरको प्रमुखका रुपमा कार्यभार सम्हालेका शाक्यले महानगरभित्र पर्ने सबै सडक मर्मत र कालोपत्रे गर्ने काममा प्राथमिकतामा रखी अघि बढेको बताउँछन्।
‘मेरो कार्यकालमा ४ सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २ सय २६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने।
त्यसैगरी वडा नम्बर ३, ४, ९, १४, १८ र २६ गरी छ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ। वडा नम्बर २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी दश वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा छन्व। डा नम्बर ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरुको भने स्तरोन्नति गरिएको छ।
महानगरले अहिलेसम्म २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरेको बताएको छ।
‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ,’ मेयर शाक्यले भने, ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ। महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ।’
महानगरले डाक्टरसहित ५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरेको छ।
‘वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरुमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ।
त्यस्तै ‘विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरेको छ।
कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको छ। ‘छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालयमा कोभिड विशेष अस्पताल र राधास्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको छ’ मेयर शाक्यले भने, ‘कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको छ।’
महानगरले कोभिड संक्रमणको समयमा विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि महानगरभित्र रहेका विभिन्न अस्पताललाई सहयोग गरेको छ।
त्रि.वि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराइएको, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्द्रलाई अक्सिजन प्लान्ट खरिद सहयोग गरी प्लान्ट सञ्चालनमा आइसकेको छ।
रगतका तत्व छुट्याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग गरेको छ।
उनकाअनुसार आफ्नो कार्यकालमा वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नंम्बर ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा छ।
‘महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ। त्यस्तै महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको छ भने ५३ वटा निर्माण सम्पन्न हुने चरणमा छन्।
स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ। सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।
महानगरबाट एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन भएको छ।
उनले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक बार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपौयाँ उपलब्ध गराईदै आएको पनि जानकारी दिए।
आर्थिक बर्ष २०७५÷०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई बार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी डिभिजनका फुटबल क्लबहरुलाई बार्षिक २ लाख प्रदान गरिँदै आएको छ।
‘सहिदहरु (दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री), नेपाल संवद प्रवद्र्धक तथा र्राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको शालिक निर्माण गरिएको छ। तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको छ।’