ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले सनवे इन्टरनेसनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ।
'ब्रिङ बेस्ट ब्रेन' मुख्य थिम सहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ।
दुई दिने यो सम्मेलनमा २२ वर्षभन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन्।
सनवे इन्टरनेसनल बिजनेस स्कुल मैतिदेवीमा हुने कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रूपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत 'भर्चुअल' सहभागिता रहने बताइएको छ।
सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ।
इन्टरनेसनल रिप्रिजेन्टेसन अवार्ड, पोटेन्शियल साइन्टिस्ट अवार्ड लगायत सहभागी छात्रामध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पूरा गर्न 'वुमेन रिसर्च ग्रान्ट' प्रदान गरिने आयोजकले बताएको छ।
सम्मेलनमा सहभागीहरूमध्ये केही विद्यार्थी इन्टरनेसनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनोट गरिनेछ।
सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चर लगायत छलफल हुनेछ।
सम्मेलनले कृषि, वन, पशुपंक्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणीय विज्ञान, सार्वजनिक स्वास्थ्य, आइओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषय समेट्ने छ।
कार्यक्रममा सहभागिताको लागि ०१-४४२३७३६ मा फोन गरेर वा [email protected] मा मेल गरेर थप जानकारी लिइ आफ्नो नाम दर्ता गराउन सकिन्छ।