सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा विकास निर्माणका कामहरु हुनुपर्ने बताइन्।
जनकपुरमा प्रदेश मेडिकल स्टोर र कोभिड–१९ विरुद्धको खोप भण्डारण गृहको शिलान्यास तथा समुद्घाटन कार्यक्रममा
मन्त्री झाँक्रीले तीनै तहको सहकार्यबाट मात्रै विकास निर्माणका काम प्रभावकारी हुने भनाइ राखिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भनिन्, ‘नेपालको संघीयता विशिष्ट प्रकारको छ, तसर्थ, तीनवटै सरकार मिलेर नागरिकको जीवनस्तर उकास्ने र विकास निर्माणका कामहरु तीव्र रुपमा सञ्चालन गर्न लाग्नुपर्छ।’
उनले प्रदेश २ मा बस अड्डा निर्माणमा पहल गर्ने, महेन्द्रनारायण निधी सभाहल निर्माण गर्ने, प्रहरी प्रशासनको ब्यारेक निर्माण गर्ने पनि बताए। त्यसैगरी कैदीबन्दीका लागि जेलको निर्माण, घरविहीनका लागि आवास र आवश्यक स्थानमा प्रदेश सरकारसँगको समन्वयमा काम अघि बढाउने दाबी गरिन्।
साथै, उनले संविधानले निर्दिष्ट गरेका मौलिक हकको कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको बताइन्।