सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट किताबमा शब्द हालेर छानिरहेको बताए।
बिहीवार विकास तथा प्रविधि समितिमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।
उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना नगरेको बताइन्।
मन्त्री झाँक्रीले मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको भएकोले उनीहरुले नै योजनाको छनोट गर्नुपर्ने दाबी गरिन्।
‘मंसिरबाट वडाबाट योजना छानिन्थे, फागुनमा गएर जिल्ला परिषद् भएर योजना छनोट हुन्थे। तर आज त संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छान्दैछन्’, उनले भनिन् ‘एलआईएम्बीएसमा छैन भनेपनि कतैबाट के गरेर शीर्षक पठाइरहेको छ। यस्तो आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले फलो गरेका छैनन्।’
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐन अर्थसमितिमा आफूहरु हुँदा बनाएको उनको भनाइ छ। ‘त्यसले योजना छनोटको अधिकार राजनीतिक व्यक्तित्वलाई दिन्छ। त्यहाँ ब्यूरोकेसीको भर नै नपर्नुस्। मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिज्ञमा नै हुनुपर्छ। आफ्नो क्षेत्रमा निर्वाचन जित्ने अभिलाषाले योजना छान्ने होइन। मैले न्याय गरेँ कि गरिन भन्ने कुरा हेरेर योजना छनोट गरौँ न’, मन्त्री झाँक्रीले भनिन्।
उनले योजना छान्दा कस्ता कार्यक्रम छान्ने? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी छान्ने गरिएको भनाइ राखिन्।
सयौँ परिवारहरु प्लाष्टिकको छानामुनि भइरहेको बेला एउटा डाँडामा ५० करोड बढीका भ्यू टावरहरु बनाउन आवश्यक नरहेको उनको तर्क छ। आधारभूत उपभोगको सेवासुविधा जनतालाई पुर्याउनु आजको आवश्यक्ता रहेको बताउँदै उनले योजना छान्ने कुराको असन्तुलनका लागि संसदले लगाम लगाउनुपर्ने बताइन्।
प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनःनिर्माण, शहरी विकासका काम हुन नसकेको धारणा राखिन्।