बुढीगण्डकी 'क' र 'ख' जलिविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीको सेयर भारतीय कम्पनीबाट नेपालको एभरेष्ट हाइड्रो होल्डिङ कम्पनी लिमिटेडले खरिद गरेको छ।
कम्पनी रजिष्टार कार्यालयको सेयर लागत विवरण अनुसार १३० मेगावाट क्षमताको बुढीगण्डकी 'क' र २६० मेगावाट क्षमताको बुढीगण्डकी 'ख' आयोजनाको प्रवर्द्धक कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रालिमा रहेको ९५ प्रतिशत सेयर एभरेष्ट हाइड्रो होल्डिङ कम्पनी लिमिटेडले खरिद गरेको छ।
यो कम्पनी नेपाली व्यवसायी तथा केही बिदेशी ब्यक्तिहरुको ज्वाइन्ट भेन्चरमा खोलिएको कम्पनी हो। जसका प्रबन्ध निर्देशक गोरख थापा हुन।
नौलो नेपाल हाइड्रो इलेक्ट्रिकमा भारतीय कम्पनी पटेल इन्जिनियरिङ लिमिटेड अन्तर्गतको इनर्जी रिसोर्सेज मुम्बईले लगानी गरेको थियो। पटेलले नेपालमा विजुली उत्पादन गरी भारत निर्यात गर्ने भन्दै आयोजनाको अनुमति लिएको थियो।
यद्यपि लामो समयदेखि आयोजनाको काम अघि बढ्न सकेको थिएन।
यी दुबै आयोजना अर्धजलाशययुक्त हुन्। नेपालको बिजुली उत्पादन नदी प्रवाहमा आधारित मात्र हुँदा उर्जाको सन्तुलित उत्पादन नभएको भन्दै सरकारले जलाशाययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्दै आएको छ। यद्यपि राजनीतिक हस्तक्षेप र खिचातानीका कारण यी दुई आयोजना अघि बढ्न सकेका थिएनन्।
२०६५ सालमा नौलो नेपालले आयोजना सर्वेक्षणको अनुमति पाएको थियो। यसले लाइसेन्स लिँदा नेपाली लगानीकर्ता मात्र यसका प्रबर्द्धक थिए। सन् २०१२ को फेब्रुअरीमा भारतीय कम्पनी पटेल इनर्जी रिसोर्ससले ९५ प्रतिशत सेयर खरिद गर्दै प्रवेश गरेको थियो।
पटेल आएपछि नेपालमा उत्पादन गरी भारतमा निर्यात गर्ने उद्देश्य लिएको थियो। भारत निर्यात गर्नेगरी उत्पादन गर्ने भन्दै नेपाल आएको कम्पनी हुँदा नै वातावरणीय प्रभाव मूल्यांकन, डिजाइन सम्पन्न गरेको थियो। नौलो नेपालले विस २०७० सालमा उत्पादन अनुमतिका लागि आवेदन दिएको थियो।
तर सरकारले नौलो नेपालको लाइसेन्स नै सरकारले खारेज गरिदिएको थियो। तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लाइसेन्स खारेज गरेका थिए। लगत्तै मन्त्री भएका जनार्दन शर्माले चिनियाँ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेका थिए।
सरकारको यो निर्णय विरुद्ध नौलो नेपाल अदालतमा गयो। अदालतले २०७५ साल चैत २७ गते लाइसेन्स खारेज गर्ने सरकारको निर्णय बदर गर्दै नौलो नेपाललाई नै उत्पादन लाइसेन्स दिन आदेश दिएको थियो।
यो आदेश लगत्तै नौलो नेपालबाट सेयर बिक्री गरेर भारतीय कम्पनी पटेल इनर्जी रिसोर्सेजसँग बाहिरिने निष्कर्षमा पुग्यो। उसले सेयर बिक्रीका लागि एभरेष्ट हाइड्रो होल्डिङ कम्पनी लिमिटेडसँग सन् २०१९ फेब्रुअरीमा सम्झौता गरेको थियो।
कम्पनी रजिष्टार कार्यालयबाट प्राप्त सेयर लागत विवरणअनुसार मंसिर २१ गते नौलो नेपालमा रहेको पटेल इनर्जी रिसोर्सेज मुम्बईको ९५ प्रतिशत सेयर एभरेष्ट हाइड्रो होल्डिङ कम्पनी लिमिटेडको नाममा नामसारी भएको छ।
भारतीय कम्पनीबाट नेपाली व्यवसायी थापाले खरिद गरेपछि आयोजना निर्माणको तयारी तीब्र भइरहेको छ। आयोजना निर्माणका लागि आवश्यक पूर्व तयारी सबै सम्पन्न भइसकेको छ।
वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भइसकेर स्वीकृत भइसकेको छ। त्यस्तै डिजाइनको काम पनि सकिएको छ। यो आयोजना निर्माणमा जानका लागि आवश्यक यी तयारी सकिएका छन्।
७० अर्ब बढीको लगानी हुने यो आयोजना निर्माण भएसँगै हिउँदयाममा न्यून हुने बिजुली आपूर्तिको समाधान हुने छ। पछिल्लो समय निजी विकासकर्ताले नदी प्रवाहमा आधारित आयोजनामात्र निर्माण गरिरहेका छन्। तर यी आयोजना निर्माण भएपछि हिउँदको समस्या समाधानका लागि सहयोगी हुने छ।
देशमा बिजुली उत्पादन त बढिरहेको छ। तर नदी प्रवाह बढेको बेलामात्र बढी हुन्छ। जब नदिमा प्रवाह जति घट्छ बिजुली आपूर्ति न्यून हुँदै जान्छ। यस्तै समस्या समाधानका यो आयोजना सहयोगी हुनेछ।
सरकारकै प्राथमिकतामा परेको प्रकृतिको आयोजना भएकाले विद्युत खरिद सम्झौता (पीपीए) छिट्टै हुने छ। अहिले सामान्य आयोजनाका लागि पीपीएमा समस्या भएपनि अर्धजलाशय र पूर्ण जलसाययुक्त आयोजनाका लागि कुनै समस्या छैन।
आयोजना निर्माणस्थलमा आवश्यक जग्गा अधिग्रहणको काम सुरु भइसकेको छ। जग्गा अधिग्रहणका लागि प्रशासनिक काम भइरहेको छ।
आयोजना निर्माण भएपछि देशकै सन्तुलित बिजुली उत्पादनमा मात्र होइन निर्माणको चरणमा स्थानीयस्तरमा रोजगारीको सिर्जना, त्यसपछि पनि स्थानीय विकासमा आयोजनाले सहयोग गर्ने छ।
पीपीए गरेर वित्तीय व्यवस्थापनका लागि कम्पनीले प्रक्रिया अघि बढाएको छ। वित्तीय स्रोत व्यवस्थापन भए लगत्तै आयोजना निर्माणमा जाने छ। यसअघि नेपालका विभिन्न आयोजनामा हात हालेको एभरेष्ट हाइड्रो होल्डिङ कम्पनी लिमिटेडले यो आयोजना तत्काल निर्माण लिने विश्वास पलाएको छ।