२७औँ महानगर दिवसका अवसरमा काठमाडौँ महानगरले आयोजना गरेको वृहत स्वास्थ्य शिविरबाट २ हजार २६९ जनाले सेवा लिएका छन्। यसमध्ये १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएका छन्।
शिविरबाट ४३ जना जेष्ठ नागरिकलाई निमोनियाको खोप दिइएको छ। यस्तै ७८८ जनाको ल्याव परीक्षण गराएका छन्। यसमा व्लड सुगर, एल्बोमिन, हेमोग्लोविन, टीजी, कोलेस्ट्रोललगायतका परीक्षण गराइएको थियो।
महानगर दिवसको मुल समारोहसँगै चलाइएको शिविरमा २८ जनाको कोभिड परीक्षणका लागि पिसीआर गरिएको थियो। शिविरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्यकर्मीलाई खोप प्रदान गर्दै निमोनियाँ खोप कार्यक्रम सुरु गरेका थिए।
सरल, सहज स्वास्थ्य सेवाका लागि महानगरले यस क्षेत्रमा लगानी बढाएको बतायो। महानगरले सञ्चालन गर्ने सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सरकारी र सामुदायिक अस्पतालको क्षमता विस्तारमा लगानी छ।
महानगरले निमोनिया विरुद्धको खोप कार्यक्रम वडा स्तरबाट चलाउनेछ। खोप खरिद प्रक्रिया अघि बढेको छ।
जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्छन्,‘खोप प्राप्त गर्न करीव १ महिना अवधि चाहिएला। त्यसपछि हाम्रो कार्यक्रम चल्नेछ।’