भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन्।
शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले गाडी चलाउन नहुने अवस्थामा पनि गाडी गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताइन्।
सडकमा गुड्ने गाडीको समयमा मर्मतसम्भार गर्ने हो भने पनि दुर्घटना धेरै घट्ने मन्त्री यादवले बताइन्।
रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी बिक्री, वितरण गर्न र सञ्चालन गर्न सचेत गराइन्।
उनले रिकन्डिसन अटो व्यवसायीलाई आफूले कस्तो अवस्थाको गाडी खरिद तथा बिक्री गरिरहेको छु भन्नेतर्फ ध्यान दिन आग्रह गरिन्।
मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराइन्।
उनले भनिन्, ‘तपाईंहरू आफ्नो कम्पनीमा गाडी ल्याउँदाखेरी ध्यान दिनुपर्छ, जथाभावी गाडी ल्याएर फेरी बिक्री गर्ने होइन। वान ह्यान्ड गाडी चलाएको, ट्याक्सी चलाएको, भाडामा चलाएको, जर्जर अवस्थाको यसलाई क्याटेगोरिज् गरेर गाडीलाई पनि ध्यान राख्नुपर्छ। त्यो गाडीको कन्डिसनको कारणले दुर्घटना नहोस्। तीन कारणले दुर्घटना हुने गरेको छ। ट्राफिकको कारणले, कन्डिसन नभएको कारणले र राम्रो चालक नभएको कारणले। यी कुरा एक अर्काका पुरक छन्। तर त्यसमा गाडीको दोष हुनुहुँदैन।’
उनले रिकन्डिसन अटो व्यवसायी काठमाडौं उपत्यका बाहिरका ठूला सहरमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गरिन्।
व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उनले व्यवसायीहरूलाई छलफलमा आउन पनि आग्रह गरिन्।