प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।
उक्त सम्झौतापछि प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ)सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको बताइएको छ।
यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल–आइपिएस र कनेक्टआइपिएस प्रणालीसँग जाडेर इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन,सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ।
यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि सघाउने छ। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुने कम्पनीको भनाइ छ।
कम्पनीकअनुसार यसरी एनपिआइमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने बताइएको छ।
एनपिआइसँग गरिने उक्त साझेदारीमा प्रिमियर इन्स्योरेन्सको सफ्टवयर पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ। जसले प्रिमियर इन्स्योरेन्स लगायत १७ अन्य र्निजिवन बीमा कम्पनीहरुलाई कोर प्रणाली प्रदान गर्दै आएको छ।
प्रिमियर इन्स्योरेन्स लगायत ३० भन्दा बढी लाईफ तथा नन–लाईफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्टआइपिएस बाट भुक्तानी गर्दै आएका छन्। साथै ७ लाईफ इन्स्योरेन्स कम्पनीहरुयस अघि नै एनपिआइमा आबद्ध रहेका छन्।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको एनपिआइ सञ्चालनमा रहेको छ। जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरुआबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्सकम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
सन् १९९४ मा स्थापना गरिएको प्रिमियर इन्स्योरेन्स विभिन्न प्रतिस्थित व्यवसायिक समूहहरु तथा उद्योगपतिद्वारा स्थापना गरिएको आइएसओ सर्टिफाइड र्निजिवन बीमा कम्पनी हो।