मिडिया स्वतन्त्र, समावेशी र जवाफदेही हुनुपर्नेमा मिडिया एक्सन नेपालले जोड दिएको छ।
छैटौं वार्षिकोत्सव समारोहको उपलक्ष्यमा आयोजित स्वतन्त्र र समावेशी मिडिया नामक संवाद कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडिया स्वतन्त्र मात्र हैन् जवाफदेही पनि हुनुपर्ने बताए।
उनले केही वर्षयता मिडियाको संख्यात्मक वृद्धि भएपनि अझै बेला–बेला यसको विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको भन्दै मिडिया र मिडियाकर्मी जवाफदेही र विश्वसनीय हुनपर्नेमा जोड दिए।
कार्यक्रममा र्राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सञ्चार क्षेत्र सामाजिक लैगिंक समावेशी रुपान्तरणको बाहक भएकाले यसले निश्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेष्ण गर्नुपर्ने बताइन्। ‘ठूला सञ्चार गृहमा पत्रकार महिला निर्णायक तहमा पुग्न सकेका छैनन्,’ उनले भनिन्, ‘महिलाहरु थुप्रै चुनौतीकाबीच आफ्ना जिम्मेवारी बहनमा पछि नहट्ने हुँदा उनीहरुको कामको सम्मान र मूल्याङ्कन जरुरी छ।’
त्यस्तै, कार्यक्रमका अतिथि र्राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना माग गर्ने सवालमा ५० प्रतिशत पत्रकारले मात्र सूचनाको हक प्रयोग गर्ने गरेको देखिएकाले यसमा थप पहुँच बढाउन आवश्यकता रहेको औँल्याए। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र समावेशीताको विषयमा सञ्चार गृह चुकेको उनले जिकीर गरे।
वरिष्ठ पत्रकार धुर्वहरी अधिकारीले पत्रकारहरु समाचार लेख्ने विषयमा अन्य कुराले आकर्षित हुन नहुने बताए। पत्रकारिता र राजनीति छुट्टिनुपर्ने भन्दै उनले स्वतन्त्र पत्रकारिताले मात्र सामाजिक रुपान्तरण गर्न सक्ने बताए। यसैगरी मिडिया एक्सन नेपालका सल्लाहकार एवम वरिष्ठ पत्रकार माधव शर्माले पत्रकार समाजको ऐनौ भएकाले स्वतन्त्र र जवापलदेही लेखनमा ध्यान दिनुपर्ने बताए ।
नेपालका लागि इजरायलका राजदुत हनन गोदरले नेपाली मिडियाको कामप्रति मिडिया एक्सन नेपालले खेलिरहेको वाचडगको भुमिका प्रशंसनिय रहेको भन्दै यसलाई निरन्तरता दिन पनि आग्रह गरे।
कार्यक्रममा अर्का अतिथि र्राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले संविधानमा प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि कानुनी रुपमा स्वतन्त्रता दिलाउन राज्य उदार नदेखिएको बताए। साथै उनले स्वतन्त्र पत्रकारिताका लागि डिजिटल र भौतिक खतराका कारण प्रेस कस्तो डोरीमा बाँधिएर चलेको छ भन्ने विषय हेर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडिया एक्सन नेपालले छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको बताए। उनले यसले प्रेस स्वतन्त्रता र समावेशी समाचार कक्ष निर्माणको सन्दर्भमा गरिरहेको कामप्रति महासंघ आभारी रहेको भनाइ राखे।
प्रेस स्वतन्त्रता र समावेशीको मुद्दा मुख्य रहेकाले यसलाई सम्बोधन गर्न महासंघ र मिडिया एक्सन नेपाल जस्तो संस्थाको भुमिका अपरिहार्य हुने उनको भनाई थियो।
सेन्टर फर ईन्भेस्टिगेटिभ रिपोर्टिङ श्रीलंकाकी कार्यकारी निर्देशक दीलरुक्सी हन्दुन्नेतीले मिडिया एक्सन नेपाललाइ शुभकामना दिइन्। साथै पत्रकारितामा श्रीलंकाको तुलनामा नेपाली पत्रकारिता समावेशी रहेको जिकिर गरिन्।
मिडिया एक्सन नेपालका अनुसार यो संस्थाले ६ वर्षको अवधिमा १० हजारभन्दा बढी पत्रकारहरु लाभान्वित हुने गरी विभिन्न चरणको कार्यक्रमा गरेको छ। साथै कोरोना महामारीका बेला मात्रै ७ सय बढी पत्रकारलाई तालिम र फेलोसिप जस्ता अवसर प्रदान गरेको छ।