३४ वर्षदेखि विभिन्न तयारी प्याकेजिङ स्न्याक्स नमकिन उत्पादन तथा बिक्री वितरण गर्दै आएको रिजाल फूड एण्ड वेभरेज प्रालिले काठमाडौंमा औपचारिक रूपमा बिक्री सुरू गरेको छ।
हालसम्म उपत्यकाबाहिरका बजारमा बिक्री वितरण गर्दै आएकोमा अब नमकिनसहितका उत्पादन काठमाडौंमा पनि उपलब्ध हुनेछन्।
आफ्ना विभिन्न तयारी प्याकेजिङ स्न्याक्स नमकिन औपचारिक रूपमा काठमाडौंमा बजारीकरण गर्न थालेको कम्पनीका प्रबन्ध निर्देशक पुरूषोत्तम रिजालले जानकारी दिए।
उपत्यका बाहिरका प्रमुख बजारमा राम्रो व्यापार गर्दै आएको रिजाल्स फूडले उत्पादन क्षमता बढाउँदै उत्पादनलाई काठमाडौंमा पनि बिक्री गर्न थालेको हो।
रिजाल्सले यसअघि काठमाडौंको भाटभटेनी लगायतका ठूला सुपरमार्केटमा मात्रै बिक्री वितरण गर्दै आएको थियो।
‘कुल आन्तरिक बजारको चालिस प्रतिशत खपत हुने बजार काठमाडौंमा आफ्ना उत्पादन लिएर जाँदैछौं,’ रिजालले भने, ‘अब हामी देशभर पुगेका छौं।’
उनले काठमाडौंमा रिजाल्सका उत्पादनको माग अत्यधिक रहेको बताए।
रिजाल फूड एण्ड वेभरेज प्रालिले पूर्वी चितवनमा अत्याधुनिक प्रविधि सहितको कारखानाबाट दालमोठ, भुजिया, आलु भुजिया, आलु चिप्स, मुङ्ग दाल लगायतका उत्पादन तयार पारेर बिक्री गर्दै आएको छ। यहाँ अहिले करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
३४ वर्ष अघि मोरङबाट चितवन आएका रिजाल दाजुभाइले ६ हजार रुपैयाँबाट दालमोठको व्यापार सुरू गरेका थिए।
उक्त व्यवसाय फैलँदै अहिले १० करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ।
रिजाल्स फूडले वार्षिक २५ करोड रुपैयाँ बढीको कारोबार गर्छ।
सरकारलाई बर्सेनि पौने २ करोड रुपैयाँ राजश्व बुझाउँछ।
'महिनामा ५० किलो दालमोठ बेचेर सुरू गरेका थियौं, अहिले डेढ लाख किलोभन्दा बढी बिक्री हुन्छ', रिजाल भन्छन्, 'बजारको माग दिनप्रतिदिन बढ्दैछ।'
नेपाली बजारमा रिजाल नमकिनको उपस्थिति करिब १५ प्रतिशत देखिएको उनले बताए।
अन्य विदेशी उत्पादनको तुलनामा गुणस्तरीय र सुलभ मूल्यमा बिक्री गर्दै आएको उनले बताए।