नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा विराटनगरमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताए।
‘नेपालमा अहिलेको पुँजीबजारले विश्वास आर्जन गर्न सकिरहेको छैन। आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने।
त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए।
‘कानुन बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पुर्याउन सहयोग गर्छौं, मोफसलमा पुँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ मुख्यमन्त्री राईले भने।
यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए। बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए।
‘सुचिकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महशुस हुन्छ। बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने।
बोर्डले प्रदेशस्तरमा पुँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिए।
‘प्रदेशमा बोर्डको आवश्कता महशुस गरिएको हो। सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’ उनले भने ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पुँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए। प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो।
नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनका अध्यक्ष मेख बहादुर थापाले लगानीकर्तालाई सेयर बजारमा लगानीका अन्य उपकरण थप गर्नुपर्ने जोड दिए।
यी उपकरण केन्द्रमा मात्र नभएर प्रदेशसम्म विस्तार गरिनुपर्ने उनको भनाइ छ।
कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए। उक्त कार्यक्रममा १ सय ५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, पत्रकार, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो।