अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्।
अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।
अर्थमन्त्री शर्माले किसानहरूलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराए।
उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए।
अर्थमन्त्री शर्माले भने, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरूको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ र यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यकता छ।’
अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरू राज्यबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरूलाई परिचालित गरेर कृषिमा आधारित उद्यम स्थापना गर्न लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरूले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।