राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यात्रु तथा सहारा पार्टनरको लागि ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ। यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको हो।
गत शुक्रबार एक कार्यक्रम आयोजना गर्दै सहारा एपको तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बीमासम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर भएको दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरूको बीमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। सम्झौताअनुसार उक्त योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने हरेक यात्रु र चालक दुवैको हकमा लागू हुनेछ।
यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उदेश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बीमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।
यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरूबाट कुनै किसिमको कमिशन नलिने घोषणा गरेको छ। बजारमा राइडर तथा पार्टनरहरूले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सस्पूर्ण रकम पार्टनरलाई दिने उद्धेश्यले यो व्यवस्था गरिएको श्रेष्ठले बताए। उनकाअनुसार यो व्यवस्था ६ महिनासम्मको लागि लागू हुनेछ।
यात्रुहरूले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् भने चालकहरूले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन्।
एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड सेयरिङले बजारमा आफूलाई स्थापित गराउन सफल भइसकेको छ।
एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौंको संख्यामा राइडरहरू थपिरहेको कम्पनीले जनाएको छ। एक लाखभन्दा बढी प्रयोगकर्ता भएको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरू आबद्ध छन्।
सहाराले पार्टनर तथा यात्रुहरूलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय-समयमा विभिन्न किसिमका अफरहरू सञ्चालन गर्दै आएको छ।