संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव राखेका छन्। नेपाल उद्योग परिसंघको प्रतिनिधिसँगको भेटमा मन्त्री आलेले उक्त प्रस्तावबारे बताएका हुन्।
नेपाललाई युरोपेली युनियनको कालो सूचीबाट बाहिर ल्याउनसमेत सरकार संवेदनशील रहेको उनको भनाई छ। युरोपेली युनियनको कालो सूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएको छ। विधेयक छिट्टै पारित गराउनेसमेत उनले जानकारी दिए।
‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्। अब प्रतिनिधि सभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालो सूचीबाट बाहिर ल्याउछौँ,’ उनले भने।
यो विषयमा सरकार संवेदनशील रहेको उनको भनाई छ। मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पु¥याइएको पनि उल्लेख गरे।
‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ। त्यसलाई पनि छिट्टै जारी गर्छौ,’ उनले भने।
कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरोत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउने उनले बताए।
मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अति प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि काम गर्नुपर्नेमा जोड दिए।
कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरोत्थानका लागि सरकारले राहत दिने घोषणा गरेको थियो। अध्यक्ष अग्रवालले अझै कतिपय व्यवसायीले राहत नपाएको गुनासो आएकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे।