श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकहरूले झेल्नुपर्ने प्रक्रियागत समस्यालाई समाधान गर्दै जाने बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने बताएका हुन्।
उनले विमानस्थलमा श्रमिकहरूका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभूति भएको बताए।
मन्त्री श्रेष्ठले इपिएसबाट कोरिया जान लागेका १६४ जना श्रमिकलाई इज्जत र व्यवस्थापनका साथ पठाउनका लागि विमानस्थल पुगेको बताए।
मन्त्री श्रेष्ठले भने, ‘आज हामी मन्त्रालयबाट मन्त्रायका सचिव, वैदेशिक रोजगार विभागका डिजी जी, ताहाचल कार्यालय प्रमुख ज्यू, वैदेशिक रोजगार बोर्डका इडी, इपिएस शाखा, विशेष गरी आज कोरियाको ठूलो टिम १६४ जना इपिएसअन्तर्गत कोरिया जाँदै भन्ने भएर उहाँहरूलाई बिदाई पनि गर्ने, सँगै यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर र जाने कामदारहरूलाई अलि इज्जतसाथ कसरी व्यवस्थापन गरेर पठाउन सकिन्छ भनेर सिंगो मन्त्रालयको टिम नै यहाँ आएका हौं। हामी अहिले नै यो गर्छौं भन्दैनौं, तर धेरै कुरा सुधार गर्नुपर्ने अनुभूति भएको छ। पब्लिक र कामदारहरू जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ। यहाँ धेरै कमजोरीहरू देखेका छौं। भन्दै र सुधार गर्दै जान्छौं।’
मन्त्री श्रेष्ठले विमानस्थलमा धेरै कुराहरूको कमी रहेको अनुभूति मन्त्रालयलाई भएको भन्दै क्रमशः कमजोरीहरूको समाधान गरिने बताए।