उद्योगी व्यापारीहरूको पुरानो संस्था मोरङ व्यापार संघको ३३ औं कार्यसमितिका सबै सदस्य निर्विरोध निर्वाचित भएका छन्।
मंगलबार उम्मेदवारी दर्ता गर्ने समयसीमा सकिँदा कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन्।
निर्वाचित हुनेहरूमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानिया, सुशिल सुराना, राजेश अग्रवाल छन्।
यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा छन्।
निर्वाचन आयोगका अनुसार मतदान २१ गते बुधबार बिहान १० बजेदेखि २ बजे दिउँसोसम्मलाई तोकिएको थियो।
कार्यसमिति निर्विरोध भएसँगै पदाधिकारी पनि सहमतिमै चयन गर्ने तयारी गरिएको छ। हालसम्म अध्यक्षमा नविन रिजाल एक्लो दाबेदार देखिएका छन्।
उनको प्रतिस्पर्धामा अन्य उम्मेदवार हालसम्म नदेखिएकोले उनै सर्वसम्मत निर्वाचित हुने सम्भावना छ।
व्यापार संघको संशोधित नियमावली अनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १/१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहनेछन्।
कार्यसमितिले मनोनीत गर्ने अन्य सदस्यसहित मोरङ व्यापार संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ।
हालसम्म अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (उद्योग) अनिल सारडा, उपाध्यक्ष (वाणिज्य) विकास बेगवानी र महासचिवमा अनिल साहलाई नै दोहोर्याउने गरी छलफल अगाडि बढेको स्रोतको भनाइ छ।
पदाधिकारी चयन भने माघ महिनामा मात्रै हुने भएको छ।
पुस महिना शुभ कार्यका लागि उपयुक्त नभएको भन्दै पदाधिकारीको टुंगो माघमा लगाउने सहमति भएको नवनियुक्त कार्यसमितिका सदस्य नविन रिजालले बताए।