पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ।
विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो।
विभागले क्यासिनो नियमावली, २०७० अनुरूप सञ्चालित कम्पनीहरूले आव २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर र आव २०७८/०८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ।
आव २०७६/०७७ सम्म नियमित रूपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्नेछ।
साथै, समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ।
रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरूमा होटल साङ्ग्रिलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालि, तारागाउँ रिजेन्सी होटेल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटेल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन., मल्ल होटेल परिसरको बेल्लिज नेपाल र एभरेष्ट हस्पिटालिटी एन्ड होटेलको डेल्टइन नेपाल प्रालि छन्।
त्यस्तै, होटल टाइगर रूपन्देहीको एसएचएल म्यानेजमेन्ट सर्भिसेज, भ्यू होटल सिद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेसनल र काठमाडौंको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रालि छन्।