भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारीले ऐनविपरीत बढाएको ब्याजदर घटाउनुपर्ने बताएकी छन्।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐनविपरीत ब्याजदर बढाएकाले सहकारीको मूल मर्मअनुसार जाने हो भने ब्याजदर घटाउनुपर्ने बताइन्।
उनले सहकारीको ब्याजदर घट्दा घट्ने र बढ्दा बढ्ने भन्दा पनि नेपालमा बढ्दा बढाउने तर घट्दा नघट्ने प्रचलन रहेको बताइन्।
मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा ब्याजदर बढाउने होइन, सहकारीलाई परेको समस्या अन्य माध्यमबाट समाधान गर्नुपर्ने बताइन्।
उनले सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने भएकाले तल्लो तहका जनताले सेवा पाउने गरी सहकारीहरूले काम गर्नुपर्ने बताइन्।
मन्त्री श्रेष्ठले सरकारले सहकारीलाई राष्ट्रहित र जनहितका आधारमा सहकारी नीति बनाउने गरी भिजन पेपर तयार भइरहेको बताइन्।
मन्त्री श्रेष्ठले पछिल्लो समय सहकारीहरू वित्तीय सुशासनभन्दा बाहिर गएर तथा सहकारी ऐनभन्दा विपरीत काम गरेकाले जनतासामु विश्वास गुमाउँदै गएको बताइन्।
उनले सहकारीहरूले लगानी गर्नेभन्दा पनि बचत तथा ऋणमा बढी हुने गरेको र सहकारीको सिद्धान्त अनुसार नचलेको बताइन्।
केही सहकारीले बदमासी गर्दा सिंगो सहकारी क्षेत्रमा असर परेको उनले बताइन्।
मन्त्री श्रेष्ठले अहिलेको अव्वस्थामा नयाँ सहकारी दर्ताभन्दा पनि भएका सहकारीलाई मजबुद र प्रभावकारी बनाउनुपर्ने बताइन्।