एसके प्रालिले भारतको सुदर्शन केमिकल उद्योगसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ। हालै दुई कम्पनीका अधिकारीबीच यससँग सम्बन्धित सहमतिमा हस्ताक्षर भएको हो।
उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक उद्योगहरूका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरण र वितरणको काम गर्नेछ। पिग्मेन्ट प्लास्टिकजन्य विभिन्न सामाग्रीको उत्पादन गर्दा विशेष रंग थप्न आवश्यक पर्छ।
यो सहमतिपछि अब एसकेले आफ्ना स्थानीय स्तरका गोदामहरूबाट सहज रुपमा केमिकल पिग्मेन्ट उपलब्ध गराउनेछ।
सुदर्शन इन्डियाले विगत ६० वर्षभन्दा बढी समयदेखि उच्च गुणस्तरका अर्गानिक र इन-अर्गानिक पिग्मेन्ट र इफेक्ट पिग्मेन्टहरू उत्पादन गर्दै आएको छ। यस्ता पिग्मेन्टहरू प्लास्टिक, कोटिङ, कस्मेटिक्स र विशेष उद्योगका उत्पादनहरूमा प्रयोग हुन्छ।
सुदर्शन इन्डियाका सेल्स युनिटका उपमहाप्रबन्धक कुशल चक्रवतीका अनुसार सुदर्शन केमिकल विश्वको तेस्रो ठूलो पिग्मेन्ट कम्पनीको रुपमा स्थापित कम्पनी हो।
बिगत ४० वर्षदेखि वितरकको रुपमा काम गर्दै आइरहेको एसके प्रालि प्लास्टिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थ, रसायन र मसिनरी सामग्री आपूर्तिका लागि ‘टिबरेवाला’को नामले परिचित छ।
सुदर्शनसँग च्यानल पार्टनरको रुपमा काम गर्न पाउँदा कम्पनी उत्साहित भएको एसकेका कार्यकारी निर्देशक एल.एन. सिंहले बताए। उनका अनुसार यो सहमतिसँगै अब कम्पनीले स्थानीय स्तरमा आफ्नो बिक्री केन्द्रहरू सञ्चालन गरेर गुणस्तरीय सेवा पुर्याउन जोड दिनेछ।