एमभी दुगड ग्रुपले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सव अवसरमा कम्पनीले रक्तदान कार्यक्रमसँगै अन्य थुप्रै कार्यक्रमहरू आयोजना गरेको हो।
कम्पनीले देशको विभिन्न ठाउँमा रहेका आफ्नो शाखाहरूबाट ६ सय ६६ युनिट रगत संकलन गरेको छ।
त्यस्तै, यसले सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा उपचार एवम् शल्यक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त शिविर गत मंगलबारदेखि शनिबारसम्म आयोजना गरिएको थियो। कार्यक्रममा कुल ९५० जनाको आँखा जाँच गरियो भने ६३ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराए। कम्पनीका अध्यक्ष मोतीलाल दुगड आफै पनि उक्त शिविरमा सहभागी थिए।
यसबाहेक कम्पनीले देशको विभिन्न ठाउँ र क्षेत्रमा गरी २,७३५ वटा बोट-बिरुवा रोपेको छ। जन्मोत्सवकै दिन कम्पनीले विरगंजमा रहेको मानव सेवा आश्रमका ६४ जना वृद्धाहरूलाई खाना खुवाएको छ।
अध्यक्ष मोतीलालको जन्मोत्सव अवसरमा उपाध्यक्ष विवेक दुगडले कम्पनीको तर्फबाट २५ जना विद्यार्थीहरूलाई छात्रावृत्ति दिने घोषणा गरेका छन्।
यसरी नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन भित्र्याइरहेको कम्पनी एमभी दुगडको अध्यक्षको जन्मोत्सव सामाजिक तथा वातावरणीय कार्य सम्पन्न गर्दै मनाइएको कम्पनीले जनाएको छ।