मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलो पटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु भएको छ।
भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको सहकार्यमा धरान-६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो।
निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित यस आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ। उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाह र सिइओ अनुपमा खुञ्जेलीको उपस्थिती थियो। फोहोरलाई उर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको मेगा बैंकका अध्यक्ष शाहले बताए।
त्यसैगरी, सिइओ खुञ्जेलीले फोहोरबाट ग्यास तथा मल उत्पादन हुँदा फोहोर व्यवस्थापन मात्र नभई थोरै मात्रामा भए पनि देशलाई उर्जाको आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न मद्दत मिल्ने बताइन्। दीर्घकालिन महत्वका यस्ता आयोजनामा साझेदारी गर्न मेगा बैंक सधैँ तत्पर रहनेमा उनले जोड दिइन्।
दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ। साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ।
यस फोहोर प्रशोधन केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्धीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ। जुन धरानमा रहेका तीन पांग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ।
यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सयदेखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुने विश्वास छ। जसबाट हालको बजार मूल्यमा करिब १० करोड रुपैयाँको आयात कम हुनेछ।
मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा तीन पांग्रे टेम्पोलाई सिएनजी ग्यासमा लाग्ने कन्भर्सन किट निःशुल्क सहयोग गर्ने तयारी गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी गराए।