अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनै पनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका छन्।
सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए।
लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए।
उनले अब लकडाउन नभएर उचित रूपमा सुरक्षाका उपायहरू अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने बताए।
मन्त्री शर्माले भने,‘अहिले कोरोना संक्रमण विस्तारै बढ्दै गएकाले अर्थतन्त्रको विषयमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन्। यो चिन्ता भनेको फेरि लकडाउन हुने हो भन्ने हो। तर, हाम्रो बीचमा चुनौतीहरू धेरै छन्। अहिले पनि कोरोनाको कारण लकडाउन हुने आशंका भइरहेका छन्। अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन। त्यसलाई हामीले कसरी सुरक्षित हुने उपायहरू खोज्न जरूरी छ। कोरोनाको कारण दुई वर्ष थलिएको अर्थतन्त्र चलायमान हुने लागेको अवस्थामा छ। यस विषयमा सरकार लकडाउन होइन सुरक्षित गर्ने उपायमा केन्द्रित हुन्छ।’
त्यस्तै, अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको दाबी गरे।
उनले अर्थतन्त्रमा धेरै चुनौतीहरू रहेको तर संकट भने नरहेको बताए।
मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको बताए। उनले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने बताए। तरलता समस्या समाधान गर्नको लागि सरकारले काम गरिरहेको समेत बताए।
अर्थ मन्त्री शर्माले भने,‘अहिले अर्थतन्त्रमा केही दबाब रहेको छ। तर बाहिर हल्ला भएजस्तो अर्थतन्त्र खराब भएको छैन। तरलताको समस्या रहेको छ। तरलता समस्या समाधानको लागि क्रमशः व्यवस्थापन भइरहेको छ। विगतको भन्दा अहिले केही सहज हुँदै गएको छ। अहिले त्यस्तो समस्या छैन।’
अब माघ महिनाभित्र तरलताको संकट समाप्त हुने समेत उनले बताए।
‘तरलता संकट समाधानको लागि सरकारले आवश्यक कदम चालिरहेको छ। अहिले विदशी मुद्रा घटेको स्वाभाविक हो। अहिले उद्योगमा लगानी भएकाले बढाउँदा र नयाँ उद्योगमा लगानी गर्ने बढेकाले कर्जा प्रवाह अत्यधिक भएकाले पनि तरलताको समस्या आएको हो। त्यस्तै आयातमा अत्यधिक वृद्धि भएकाले पनि तरलतामा असर परेको हो’, उनले भने, ‘कोरोना महामारीका कारण २ वर्षसम्म काम नहुँदा अहिले एकैपटक धेरै क्षेत्रमा लगानी बढेको र आयात पनि उसैगरी बढ्दा तरलतामा दबाब सिर्जना भएको हो। डलरको मूल्य बढेको तथा, तेल र फलामको मूल्य बढ्दा विदेशी मुद्राको संचितिमा दबाब परेको छ।’
अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७२ प्रतिशत रहेको र त्यसमा बैंक तथा वित्तीय क्षेत्रको योगदान २० देखि २२ प्रतिशत रहेकोले बैंकिङ र निजी क्षेत्रबाट उत्पादनमा जोड हुनुपर्ने उनले बताए।