सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रतिनिधि र चिनी उत्पादक संघका अध्यक्ष लगायत बैठक बसी उक्त निर्णय गरिएको हो।
बैठकले मन्त्रिपरिषदको निर्णयबाट निर्धारण भएको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विण्टल ५२० (पाँच सय बीस) रुपैयाँभन्दा कम नहुने गरी चिनी उद्योगहरूले उखु खरिद गरी उखुको मूल्य किसानहरूलाई समयमा नै भुक्तानी दिने निर्णय गरेको छ।
यसैगरी, उखु किसानलाई बक्यौता भुक्तानी गर्न बाँकी रहेका चिनी उद्योगहरूले तत्काल उखुको बक्यौता रकम भुक्तानी गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्थानीय प्रशासनलाई जानकारी गराउन भनिएको छ।
उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि बमोजिम नेपाल सरकारले उखु किसानलाई उपलब्ध गराउनुपर्ने अनुदान रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरी समयमा नै उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तर निकाय समन्वय गरी उखु किसानलाई उन्नत जातको उखुको बिउ, रासयनिक मल, सिँचाइ लगायतका सुविधा उपलब्ध गराउने निर्णय भएको छ ।