कञ्चनपुरको भिमदत्त नगरपालिका-१६ मा रहेको मझगाउँ विमानस्थल निर्माणको काम सुरू हुने भएको छ।
बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका हुन्।
मन्त्री आलेले विमानस्थलमा भौतिक संरचना निर्माणका लागि शिलान्यास गरेका हुन्।
शिलान्यासपछि २२ वर्षदेखि बन्द रहेको उक्त विमानस्थल सञ्चालनका लागि निर्माणको काम अगाडि बढ्ने मझगाउँ विमानस्थल पुन:सञ्चालन समितिका संयोजक रमेशचन्दले बताए।
हाल विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ।
विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेको चन्दले बताए।
यस्तै, विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम रहने सहमति भइसकेको जनाइएको छ।
विमानस्थलको लम्बाइ १ हजार ६६२ मिटरको रहने छ । यस्तै, ६६ बिघा जमिनमा विमानस्थल रहने जनाइएको छ।
मझगाउँ विमानस्थल २०२४/०२५ सालतिर बनिसकेको थियो।
सुरू/सुरूमा कहिलेकाहीँ मात्रै प्लेन आउँथ्यो। केही वर्षपछि बैतडी, गोकुलेश्वर र बझाङमा विमानस्थल बने। मझगाउँबाटै ती विमानस्थलमा उडान हुन थालेको थियो। यसपछि अलि धेरै पटक प्लेन आउने गरेको स्थानीय राजेन्द्र चन्दले बताए।
पछि संकटकाल लागेपछि सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो। त्यसपछि फेरि कहिले यहाँ प्लेन आएन।
हुन त महेन्द्रनगरबाट डेढ/दुई घन्टाको दूरीमै धनगढी विमानस्थल छ। बझाङ दार्चुलादेखि झर्नेहरू पूर्वतिर जान पनि त्यतैबाट सजिलो भएकाले अहिलेको केन्द्र धनगढी भएको छ। तर महेन्द्रनगरका बासिन्दालाई भने आफ्नो सहरमा भएको पुरानो विमानस्थल ब्युँतिए आर्थिक गतिविधि बढ्थ्यो भन्ने लागेको छ।
उत्तरमा चुरे पहाड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डेढ किलोमिटर लामो झोलुंगे पुल लगायतका क्षेत्र यहीँ आसपास छन्।
यसबाहेक मानसरोवर जाने, सुदूरपश्चिमका अरू जिल्ला भ्रमणमा आउनेलाई पनि राहत हुने उनीहरू बताउँछन्।
बन्द भएको विमानस्थल पुन:सञ्चालनका लागि निर्माणको काम अगाडि बढ्ने कुरापछि यहाँका स्थानीयहरू खुसी छन्।