सुनौलि नाकाबाट केही दिन यता अवैध रुपमा ठुलो मात्रामा गाडीको स्पेयर पार्टसहरू (पार्टपुर्जा) भित्रने गरेको पाइएको छ। जसबाट राज्यको दिनहुँ लाखौं रूपैयाँको राजस्व नोक्सानी भएको छ।
आधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरू भित्र्याउँदा मूल्य अविवृद्धि कर सहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनु पर्ने हुन्छ। तर केहि दिन यता दैनिक खपतको ६० प्रतिशतभन्दा बढी पार्टसहरू अवैध तरिकाले आयात भइरहेको भैरहवाका अटो पार्टस व्यवसाइहरू बताउँछन्।
उनीहरूका अनुसार सुरु-सरुमा सिमाना आसपासमा मात्र यस्ता अवैध गतिविधि भएपनि हाल यस्तो आयात रुपन्देही, कपिलवस्तु र नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको पाइएको छ। उक्त विषयमा सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराए पनि सम्बन्धित निकायले कुनै ठोस कदम नचालेको बुटवल इन्जिनियारिङ एसोसिएसनका उपाध्यक्ष बाबुराम आश्चार्यले बताए।
स्थानीय व्यापारीअनुसार गाडी धनी आफैले सिमा पारीका व्यपारीलाई सम्पर्क गर्दै एजेन्टको सहयोग र विभिन्न किसिमको सम्बन्धमा ग्यारेजसम्म सामान भित्र्याउने गरेका छन्। यस्तो अवस्थामा कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।