तनहुँको व्यास नगरपालिकाले माघ ३० गतेदेखि आयोजना गर्न लागेको तनहुँ कृषि तथा पशुपक्षी मेला स्थगन भएको छ। नगरपालिकाले तीन दिनसम्म गर्न लागेको मेला कोरोना भाइरस संक्रमण जोखिमका कारण स्थगन भएको हो।
हाल कोभिड-१९ फैलन गई नेपाल सरकारले २५ जनाभन्दा बढीको संख्यामा भिडभाड नगर्नु भनी सार्वजनिक सूचनासमेत जारी गरेकाले अर्को सूचना नभएसम्मका लागि मेला स्थगन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।
‘मेलामा अत्यधिक भीड हुने अवस्थालाई मध्यनजर गरी अहिले उक्त मेला गर्न उपयुक्त ठानिएन’, उनले भने।
आठौं तनहुँ महोत्सव स्थगित
कोरोना त्रासका कारण माघ १९ गतेदेखि सञ्चालन हुने आठौं तनहुँ महोत्सव स्थगन गरिएको छ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि तनहुँ उद्योग वाणिज्य संघले अर्को सूचना नभएसम्मका लागि महोत्सव स्थगन गर्ने निर्णय गरेको हो।
नेपाल, भारतलगायत विश्वव्यापी रूपमा तीव्रगतिले फैलिँदै गएको कोरोना भाइरस संक्रमण जोखिमका कारण महोत्सव स्थगन गर्ने निर्णय गरिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
सरकारले लागू गरेको स्वास्थ्य मापदण्डको पूर्णपालना गर्न समेत आम उद्योगी, व्यवसायीलाई संघले आग्रह गरेको छ।
सरकारले देशभर मेला, महोत्सव रोक्न निर्देशन दिनुका साथै २५ जनाभन्दा बढी जमघट हुने कार्यक्रम रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
ओमिक्रोन नियन्त्रणका लागि प्रशासनको तयारी
कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सहयोग गर्न सबै पक्षलाई जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले ओमिक्रोन नियन्त्रणका लागि सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको हो।
विश्वमा फैलिरहेको कोरोना भाइरसको तेस्रो लहर नेपालमा पनि देखापरेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २६ को सूचनाअनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई तनहुँमा पनि कार्यान्वयन गरिने प्रजिअ अर्यालले बताए।
‘कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको छ, सबैले सचेतना अपनाएर कोरोना नियन्त्रणमा जुट्नुपर्छ’, अर्यालले भने।