साझा यातायातले ललितपुर जिल्लाका भित्री सडकमा बिजुली बस सञ्चालनमा ल्याउने तयारी गरेको छ। यसका लागि चार वटा बिजुली बस खरिद प्रक्रिया अगाडि बढिसकेको साझाका सञ्चालक तथा निर्देशक भूषण तुलाधरले जानकारी दिए।
१२ सिट क्षमताका ती बस भारतबाट खरिद गर्न लागिएको हो। बस खरिदको जिम्मा इको–भिजन कम्पनीले पाएको छ। हाल ती बिजुली बस बनिरहेका छन्। तीन महिना भित्रमा बस बनिसक्ने र सुरूमा परीक्षणका लागि ल्याइने तुलाधरले जानकारी दिए।
उनका अनुसार एउटा बसको मूल्य करिब २३ लाख पर्नेछ। सोही मूल्यमा तीन वर्षसम्म मर्मतसम्भार पनि हुनेछ। पाँच महिनाभित्रमा बस गुडाउन सुरू गर्ने साझाको योजना छ।
बस अपांगतामैत्री, जेष्ठ नागरिकमैत्री हुनेछन्। वातावरण संरक्षणमा पनि बिजुली बसले उल्लेख्य भूमिका खेल्छ। स्थानीय सरकारसँग मिलेर यी बसमार्फत ललितपुरमा पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गरिने तुलाधरले बताए।
‘यसका मुख्य दुई उद्देश्य हुन्। एउटा वातावरण संरक्षण र अर्को पर्यटन प्रवर्द्धन। जसले पाटन तथा ललितपुरका पर्यटकीय क्षेत्र घुम्न पैसा तिरिसकेकाले यो बस निःशुल्क प्रयोग गर्न पाउँछन्,’ उनले भने।
यसबाट ललितपुरका भित्री सडकको संस्कृति तथा जनजीवन र पर्यटकीय स्थलको अवलोकन गर्न निकै सहज पुग्ने विश्वास साझाको छ। जेष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्तिका लागि पनि बसले निःशुल्क सेवा दिनेछ। स्थानीय तथा अन्य व्यक्तिले भने शःशुल्क प्रयोग गर्न सक्ने तुलाधरले बताए।
कुन-कुन रूटमा चलाउने भनेर छलफल भइनसके पनि एउटा बस पुल्चोकबाट मंगलबजार, मंगलबजारबाट पाटनढोका र त्यहाँबाट फेरि मंगलबजार घुमिरहने साझाले बताएको छ।
यो सेवाबाट भित्री सहरबाट चक्रपथ वा मुख्य सडकसम्म पुग्न पनि सहज हुने विश्वास लिइएको छ।
‘अहिले जो पाटनमा आउँछ उनीहरू पाटन दरबार हेरेर मात्रै फर्कन्छन्। बस पनि दरबारसम्म पुग्दैन। पुल्चोकदेखि नै हिँड्दै जानुपर्ने बाध्यता छ। पाटनमा अन्य धेरै ठाउँहरू पनि हेर्न लायक छन्। त्यहाँ पुगेपछि सबैतिर जान सहज होस् भन्ने उद्देश्य पनि हो,’ उनले भने।
पाटनबाट भित्र ‘हेरिटेज वाक’ का लागि आउनेका लागि पनि यी बस सहज हुने तुलाधरले बताए। चार्जिङ स्टेसन भने पुल्चोकमै रहने साझाको भनाइ छ।
साझाले ल्याउन लागेका अन्य ४० बिजुली बसको पनि एलसी खोलिसकिएको छ। जसमध्ये पहिलो चरणमा तीन वटा ल्याइनेछ। चिनियाँ कम्पनी सिएचपिसीले ती बस ल्याउनेछ।
तीन वटा बस ल्याएर यहाँको सडकमा गुड्न ठीक छन्/छैनन् परीक्षण गरिनेछ। ठीक भए अन्य ३७ बस ल्याइनेछ। ती बस किनेको पाँच वर्षसम्म कम्पनीले नै मर्मतसम्भार गर्नेछ।
सम्झौताअनुसार साझाले ४० बिजुली बस र २० वटा चार्जरका लागि ४५ करोड ११ लाख नेपाली रूपैयाँ बढी र तालिम, पाँच वर्षको मर्मतसम्भारसहित स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रूपैयाँ सिएचपिसी कम्पनीलाई दिनुपर्नेछ।
२६ सिट क्षमताका बस अपांगमैत्री हुनेछन्। यी बस एकपटक पूरा चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु राखेर २०० किलोमिटर गुड्न सक्ने उल्लेख गरिएको छ।
बिजुली बसले वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुर्याउने तुलाधर बताउँछन्। जसकारण पनि साझाले आउँदा दिनमा विद्युतीय बसको प्रयोग बढाउँदै लैजाने उनको जोड छ।
संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा काठमाडौंसँगै देशका अन्य स्थानमा समेत बिजुली बस विस्तार गरिने साझाको भनाइ छ।