ललितपुर महानगरपालिकाले फुटपाथ ओगट्ने गरी बनाइएका संरचनाहरू हटाउने काम शुरु गरेको छ। पहिलो चरणमा कुपन्डोलदेखि सातदोबाटोसम्मको संरचना हटाएको महानगरले अहिले दोस्रो चरणमा सानेपा क्षेत्रको संरचना हटाइरहेको हो।
'घर अगाडि ट्रस हालेर फुटपाथलाई पनि अवरोध गरेको धेरै स्थानमा भेटियो,' ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेँथुले भनेका छन्, 'त्यसले नगरको सुन्दरतालाई पनि बिगारेको कारण महानगरपालिकाले निर्देशन दिएपछि यो अभियान चलाइएका हौं।'
उनका अनुसार धेरैले आफ्नो घर तथा पसल अगाडि यस्ता संरचना बनाएको भेटिएको छ। महानगरले शुरुमा निरीक्षण गरेर नियम विपरित संरचना भएकाहरूलाई उक्त संरचना भत्काउन पत्र लेख्यो। प्रायःले महानगरको पत्रअनुसार आफै भत्काएर सहयोग गरे। तर केहीले अटेर गरेपछि महानगर आफैले ती संरचना भत्काउन थालेको हाछेँथुले जानकारी गराए।
त्यस्तै, अब मंगलबजार र सुन्धरा क्षेत्रमा पनि नियम विपरित बनाइएका संरचना भत्काउन शुरु गर्ने उनले बताए। मंगलबजारपछि रिङरोड बाहिर पनि यो अयिभान चलाइने महानगरपालिकाले जनाएको छ।
नगर प्रहरी प्रमुखको जिम्मेवारी पाउना साथ हाछेँथुले ललितपुरमा मदिराका बोर्डहरू हटाएका थिए।