हिमालय एअरलाइन्सले आइतबार बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुल्क कार्गो उडान भरेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ केजी) राहत सामग्री बोकी हिमालयले निःशुल्क उडान भरेको एअरलाइन्सले जनाएको छ।
एअरलाइन्सका अनुसार यसले अन्दाजी एक करोड तीस लाख रकम बराबरको योगदान पुर्याएको छ।
हिमालयको एअरबस ३१९-११५ ९एन एजेके आइतबार बिहान ९ बजेर १७ मिनेटमा काबुलतर्फ उडेको हो। जहाजमा अत्यावश्यक राहत सामग्रीहरू जस्तै, औषधि, खाद्यान्न, लत्ता-कपडा, जुत्ता, ब्ल्यांकेतलगायत रहेको पनि एअरलाइन्सले जनाएको छ।
जहाजमा १५ सदस्यीय टोली पनि थियो जसमा परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरू छन्।
काबुल उडान भर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको स्पष्ट पारे। यस कामले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई राम्रो बनाउनेमा उनले विश्वास राखेका छन्।
कार्यक्रमकै क्रममा उडान काबुलतर्फ प्रस्थान गर्नुअघि हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले नेपाल सरकारद्वारा अफगानी जनताका लागि मानवीय सेवा पुर्याउने उद्देश्यका साथ गरिएको सहयोगमा आफू पनि हिस्सा हुन पाएकोमा खुसी व्यक्त गरे।
हिमालयको उडान एच९ ५९३१ काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजेर ८ मिनेटमा अवतरण गरेको छ। र उक्त अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित संयुक्त राष्ट्र संघको सहयोगी निकायको कक्षमा उपरोक्त राहत सामग्री हस्तान्तरण गरिएको छ।