आन्तरिक उडान गर्ने यात्रुका लागि सरकारले एन्टिजेन परीक्षण अनिवार्य गरेसँगै वायुसेवा कम्पनीहरू अन्यौलमा परेका छन्।
तत्काल कुनै पनि मापदण्ड बिना लागू गर्ने भनिएको एन्टिजेन परीक्षण सम्भव नहुने वायुसेवा कम्पनीले बताएका छन्।
कोभिड पहिलो र दोस्रो लहरपछि सामान्य अवस्थातर्फ फर्कदै गरेको हवाइ उद्योग प्रभावित हुने एयरलाइन्सहरुको ठहर छ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले वायुसेवा कम्पनीले नै यात्रुको एन्टिजेन परीक्षण गरी नेगेटिभ रिपोर्ट आएको खण्डमा मात्रै उडान गराउन पाउने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले आन्तरिक हवाई उडान सञ्चालन सम्बन्धमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेस-सिल्ड अनिवार्य गर्ने, हवाई जहाजभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र व्यागेज निसङ्क्रमित गर्नुपर्ने, चेक-इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने र सम्बन्धित वायु सेवा सञ्चालकलको खर्चमा यात्रुको एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र यात्रा गराउने भनि निर्णय गरेको छ।
निजी वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुणलगायत आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले सरकारको निर्णयपछि एन्टिजेन परीक्षणबारे आन्तरिक छलफल सुरू गरिसकेका छन्।
सरकारले निर्णय भएसँगै बुद्ध एयरले कार्यविधि र मापदण्ड बिना एन्टिजेन परीक्षण सम्भव नहुने बताएको छ।
तत्कालको अवस्थामा प्रत्येक यात्रुको एन्टिजेन परीक्षण सम्भव नहुने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए।
‘हालको अवस्थामा एन्टिजेन परीक्षण रिपोर्ट आउँनै घन्टौं लाग्छ। हामी बिहान ७ बजेदेखि सेवा दिन्छौं। यसो हुँदा हुँदा बिहान सात बजेको उडान भर्ने यात्रु बिहान तीनै बजे आइपुग्नु पर्ने हुन्छ। यो निर्णय व्यवहारिक देखिँदैन,' कर्णले भने,‘यसो गर्दा भीडसमेत बढ्दै जान्छ।’
कर्णका अनुसार कम्पनीले दैनिक १ सय ४० उडान गर्दै आएको छ। जसमध्ये ९३ प्रतिशत अकुपेन्सी कायम हुँदै आएको छ।
काठमाडौंको हकमा केही सहज भए पनि अन्य ठाउँमा यो अहिलेकै अवस्थामा सम्भव नहुने उनले बताए।
उनले आन्तरिक हवाई उडान सञ्चालन सम्बन्धमा सरकारले जारी गरेका चारवटै प्रावधान ठिक भए पनि एन्टिजेन सम्बन्धी प्रावधान सम्भव नहुने दोहोर्याए।
हरेक आन्तरिक यात्रुको एन्टिजेन परीक्षण अनिवार्य गराउनु व्यवहारिक नहुने यती एयरलाइन्सले जनाएको छ।
काठमाडौंको हकमा केही सम्भव भए पनि मुलुकमा सञ्चालित अधिकांश विमानस्थलमा तत्काल एन्टिजेन परीक्षण गर्नै असम्भव रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
‘कार्यविधि र तयारी एवं छलफल बिनै लागू गरेको यात्रुको एन्टिजेन परीक्षण तत्काल सम्भव देखिदैन’, उनले भने, ‘अझ काठमाडौं बाहिरका विमानस्थलमा त झन गाह्रो छ’
एउटा यात्रुको रिपोर्ट आउनै ३-४ घण्टा समय लाग्छ। यसो हुँदा यात्रुलाई पनि सास्ती र हामी सेवा प्रदायकलाई पनि थप सास्ती हुने बर्तौलाले बताए।
‘यो भन्दा विकराल अवस्था पहिला थियो। हवाई यातायात त्यो समयदेखि नै सुरक्षित छ। अहिले किन यो मापदण्ड लागू गरियो बुझ्न सकिएन,' उनले भने, ‘खोप कार्ड चै सम्भव हुन्छ। तर एन्टिजेनको हकमा अझै अध्ययन गर्नुपर्ने हुन्छ।’
बर्तौलाका अनुसार यति एयरले हाल दैनिक २४ वटा उडान गर्दै आएको छ। उसको यात्रु अकुपेन्सी ८५ प्रतिशत हाराहारी छ।
सरकारले लागू गरेको यात्रुका लागि अनिवार्य एन्टिजेन परीक्षण सान्दर्भिक नहुने उनले दोहोर्याए। सरकारले अझै पनि नागरिकलाई खोप दिन नसकिरहेको भन्दै उनले सबैभन्दा पहिले सरकारले खोप व्यवस्थापन गर्नुपर्ने बताए। ‘सरकारले सबैभन्दा पहिले खोपको व्यवस्थापन गर्नुपर्यो। दोहोरो मात्रा खोप लगाएको बुस्टर डोजको व्यवस्था गर्नुपर्यो। त्यसपछि स्वास्थ्य सतर्कता अपनाएर हामी उडान गर्न तयार हुन्छौ’, उनले भने।
सरकारको निर्णय आएसँगै सोमबार वायुसेवा संचालक संघले छलफल गरेको छ। सरकारको निर्णयपछि कसरी अगाडि बढ्ने र यसका सम्भावित विकल्पहरू के-के हुनसक्छन् भन्नेबारेमा छलफल भएको थियो।
छलफलमा छोटो दुरीको यात्रामा हरेक यात्रुको तत्काल एन्टिजेन परीक्षण सम्भव नहुने भएकाले पुनर्विचार गर्न स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालयलाई जानकारी गराउने र छलफललाई निरन्तरता दिने निर्णय भएको छ।
आन्तरिक हवाई उडान सञ्चालन सम्बन्धमा देहायबमोजिम गर्ने:
(क) चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेस-सिल्ड अनिवार्य गर्ने,
(ख) हवाई जहाजभित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
(ग) प्रत्येक उडान पछि हवाई जहाज र व्यागेज निसङ्क्रमित गर्नुपर्ने,
(घ) चेक-इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने,(ङ) सम्बन्धित वायु सेवा सञ्चालकलको खर्चमा यात्रुको एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र यात्रा गराउने।