होटल तथा रेष्टुरेन्टमा जाने ग्राहकहरूलाई कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले आदेश जारी गरेका छन्।
कोरोना संक्रमण बढ्दै गएसँगै कार्यालयले मंगलबार रातिदेखि लागू हुने गरी यस्तो आदेश जारी गरेको हो।
आदेशअनुसार होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, फेस सिल्ड र पन्जा लगाउनुपर्नेछ भने ग्राहकहरूको लागि अनिवार्य स्यानिटाइजरको व्यवस्था होटल/रेष्टुरेन्टले गर्नुपर्नेछ।
कुनै सेवाग्राही मास्क नलगाइ आएमा व्यवस्थापकले ५ रुपैयाँमा मास्क उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, माघ ८ गतेपछि भने खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटल तथा रेष्टुरेन्टमा प्रवेश गराउन होटल/रेष्टुरेन्ट व्यवसायीहरूलाई आदेश जारी गरिएको छ। यद्यपी राष्ट्रिय राजमार्गहरूमा सञ्चालित होटलहरूमा छिर्न भने खोप कार्ड अनिवार्य गरिएको छैन।
होटलले चेक-इन गर्दाको अवस्थामा वा चेक-इन गरेको २४ घण्टाभित्र आफ्नो होटलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परिक्षण गर्नुपर्नेछ।