काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्यमा केही जटिल समस्या देखिएमा आफ्नो वडाको स्वास्थ क्लिनिङ अथवा स्वास्थ विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्। हाल महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभाग सञ्चालन गरिरहेको छ।
काठमाडौं महानगर वडा-२३ मा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मेयर शाक्यले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै महानगरवासीलाई यस्तो अनुरोध गरेका हुन्।
महानगरले पहिलेजस्तै आइसोलेसन र क्वारेन्टीहरू तयारी अवस्थामा राखेको समेत मेयर शाक्यले बताए।
‘हामीले त्यसका लागि गृह मन्त्रीज्यू, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौं,’ उनले भने, ‘नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौं। हामी पनि तयारी अवस्थामा छौं। आवश्यक पर्यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टीनहरू सञ्चालन गर्न सक्छौं।’
उनले आगामी दिनमा कुनै पनि सेवा आवश्यकता परेको खण्डमा महानगर भित्रका अस्पतालहरूसँग सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको समेत बताए।
‘त्यसका लागि ती अस्पतालका केही आवश्यकता पूरा गर्दै क्षमतावृद्धि गरी कोरोनाविरुद्ध लड्ने कार्यमा आर्थिक-भौतिक सहयोग गर्न महानगरपालिका तयार छ। त्योसँगै त्यहाँ कार्यरत नर्स-डाक्टरहरूको मनोबल बढाउन पनि महानरपालिका तयार छ,’ उनले भने।
त्यस्तै मेयरले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्।
‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सिसिएमसीले कोभिड-१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका शाक्यले भने, 'अहिले काठमाडौं कोरोनाको हटस्पट बनेको छ। तर, सिसिएमसीले हामीसँग समन्वय गरेको छैन।'
उनले स्थानीय सरकार जनताको घरदैलोको सरकार रहेको र संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो पनि बनेको बताए।
संघीय सरकारले समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिने मेयर शाक्यको भनाइ छ।