नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले नारायणहिटी दरबार संग्रहालयमा क्याफेटेरिया सञ्चालनसम्बन्धी विवाद व्यवसायीमाथि एकतर्फी प्रहार भएको बताएको छ।
व्यवसायीलाई राज्यले एकतर्फी दोष देखाएर स्पष्टीकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरणमाथि अंकुश लगाएको महसुस भएको संघको ठहर छ।
मंगलबार संघले विज्ञप्ति जारी गर्दै व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएको गम्भीर अवस्थाले सम्पूर्ण निजी क्षेत्र सशंकित र आतंकित बनेको बताएको छ।
‘नारायणहिटी दरबार संग्रहालयमा नेपाल सरकारले टेण्डर आह्वान गरी सरकार निजी सहकार्य गर्ने नीति अनुसार विधिपूर्वक बतास अर्गनाइजेसनलाई सम्झौता गरी क्याफेटेरिया सञ्चालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रूपमा अनुमति प्राप्त गरिसकेपछि मात्र आवश्यक निर्माण समेत गर्दै गरेको अवस्थामा प्रमाणरहित विभिन्न तथ्यहीन समाचारहरूको आधारमा सरकारले एकाएक एउटा राज्य र जनताप्रति जिम्मेवार र संवेदनशील रहेको व्यवसायीलाई राज्यले एकतर्फी दोष देखाएर स्पष्टीकरण मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरणमाथि अंकुश लगाएको महसुस यस संघले गरेको छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुनविपरीत भएको गतिविधिमाथि राज्यले यथाशीघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न संघले माग गरेको छ।
'पीडित व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि यस संघले सम्बन्धित निकायहरूलाई संवेदन हुन अनुरोध गर्दै यथाशीघ्र योप्रति सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराउन चाहन्छौं,' संघले भनेको छ।