अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्यालाई नीतिगत रूपमा सम्बोधन गरिने बताएका छन्।
मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उनले निजी क्षेत्रको हितविपरीत कुनै निर्णय नलिइने बताए।
‘निजी क्षेत्रको सरोकारलाई सम्बोधन गर्न सरकार तयार छ, निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्छ’, उनले भने।
अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन केही विषयमा सरकारले अल्पकालीन नीति लिएको स्पष्ट पार्दै उनले अर्थतन्त्रले लय समातेपछि त्यस्ता विषयमा पुनःविचार गरिने बताए।
मुलुकको समृद्धिका लागि नीतिगत र संरचनागत समस्या समाधान गरिने बताउँदै अर्थमन्त्री शर्माले वर्तमान आर्थिक अवस्थाका बारेमा भ्रम छरिएको भन्दै चिन्ता व्यक्त गरे।
‘मुलुकको आर्थिक अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था भए पनि अर्थतन्त्र समाप्त भयो भनेर नियोजित प्रचार गर्न खोजिएको छ’, अर्थमन्त्री शर्माले भने, ‘अर्थतन्त्रलाई आतंक र भ्रमबाट मुक्त गरेर यथार्थमा जानुपर्छ।’
लगानी प्रवर्द्धन गर्न सम्पत्तिको स्रोत नखोज्ने नीति लिइएको भए पनि उक्त विषयलाई अपव्याख्या गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उद्योग, व्यवसाय र व्यापार बिना मुलुक समृद्ध हुन नसक्ने भन्दै निजी क्षेत्रले निर्यातजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन निजी क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय लिइनुपर्ने बताए।
उनले वैदेशिक रोजगारीलाई सरलीकृत बनाउँदै विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन सरकारले पहल गर्नुपर्ने बताए।
निर्यातमा नगद अनुदानको व्यवस्थालाई सहजीकरण गर्नुपर्ने, वैदेशिक लगानीको न्यूनतम सीमा हटाउनुपर्ने, निर्माण व्यवसायीलाई दिइने पेस्की २० प्रतिशत पुर्याउनुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने तथा उद्योगलाई विद्युतको डिमाण्ड शुल्क घटाउनुपर्ने सुझाव उनले दिए।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगी व्यवसायीको मनोबल उच्च बनाइराख्न सरकार परिवर्तन भए पनि निजी क्षेत्रसँगको सम्झौताको कार्यान्वयनमा अप्ठ्यारो पर्ने वातावरण बनाइन नहुने बताए।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले सरकारका केही विरोधाभाष नीतिले निजी क्षेत्र निरूत्साहित भएको उल्लेख गर्दै आयातमा प्रतिबन्ध लगाउने नीति पुनरावलोकन गर्नुपर्ने बताए।