कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरूले सरकारले स्वास्थ्यका मापदण्ड पूर्णपालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्।
विभिन्न पेशामा आवद्ध व्यवसायीहरूले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरूले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन्।
संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बाँस्तोलाले बताए।
उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गरे।
व्यवसायी बाँस्तोलाले व्यवसायीहरूले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्न नहुने बताए।
उनले राज्यले भरोसा नदिएको खण्डमा मजदूर र व्यवसायीहरू आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको बताए।
व्यवसायी बाँस्तोलाले भने, ‘नेपाल सरकारसँग दर्ता भएर रहेका कम्पनीहरू छन्। जुन कम्पनी दर्ता गर्दा डिपोजिटको रूपमा पनि राज्य कोषमा वा बैंकमा हामीले पैसा राख्नुपर्ने हुन्छ। दुई वर्षको समयमा हामी अहिले कामहरू गर्न नसकेको अवस्था छ, कामहरू गर्ने वातावरण छैन। थुप्रै साथीहरू ऋण खोजेर वा ऋण खोजेको भए ब्याजमा पैसा लिएर, जुन तरिकाले अहिलेसम्म साथीहरू टिक्नुभएको छ अब टिक्ने अवस्था छैन। यो कुरामा आम व्यवसायीहरूले कसरी लिनुपर्छ भन्ने मलाई लाग्छ भने राज्यले परकम्पनी कति ट्याक्स तिरेको छ त्यो हेरेर हुनसक्छ, वा अरू कम्पनीहरूलाई जमानी राखेर हुनसक्छ।’
अब पनि मान्छेलाई निषेधाज्ञा गरेर घरमै राखेर कतै पुग्न नसकिने उनले बताए।
‘अब मान्छेलाई निषेधाज्ञा नै गरेर, लकडाउन नै गरेर घरमै राखेर त हामी कतै पनि पुग्न सकिन्छ जस्तो लाग्दैन। राज्यले एउटा सबैजना अट्नेगरी एउटा नियम बनाएर त्यसमा हिँडाउन सक्नुपर्छ। फेरि लकडाउन भए आर्थिक अवस्था बिग्रिँदै जान्छ। अर्थतन्त्रमा नकारात्मक असर देखिन्छ’, उनले भने, ‘लकडाउन भनेर लकडाउन होइन, त्यसमा नियमअनुसारको आ-आफ्नो गतिविधि गर्न पाउने गरी काम गर्न दिनुपर्छ।’
त्यस्तै, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोप कार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए।
उनले सरकारले यो निर्णयका लागि मात्रै गरेको भन्दै उनले व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए।
उनले सबै बालबालिकाहरूले कोरोनाविरूद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठिन रहेको बताए।
प्रवक्ता बर्तौलाले विमानस्थलमा खोप कार्ड लगाएकाहरूलाई मात्र चढ्न दिँदा त्यसको रेकर्ड राख्ने सिस्टम नभएको भन्दै उनले सरकारले यस्ता निर्णयलाई सच्याएर सहजतापूर्वक काम गर्ने वातावरण मिलाइदिनु पर्ने बताए।
त्यस्तै, होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए।
उनले सरकारले विगतमा झैं यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताए। उपाध्यक्ष शाहले व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने बताए।
उपाध्यक्ष शाहले सरकारले आर्थिक क्षेत्रलाई नजरअन्दाज नगरी सँगै लिएर जानुपर्ने बताए।