काठमाडौं महानगरपालिकाले सार्न मिल्ने खालका आकाशे पुल निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।
आइतबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दुइटा आकाशे पुलको एकै पटक शिलान्यास गरेका छन्। महानगरपालिका वडा-७ को चावहिलचोक र मित्रपार्कमा आकाशे पुलहरूको एकै पटक शिलान्यास गरेका हुन्।
चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाइ अनि मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइका दुइटा पुलको शिलान्यास गर्दै मेयर शाक्यले महानगरपालिका क्षेत्रभित्र भिडभाड र दुर्घटना बढी हुने स्थानहरूमा आकाशे पुल निर्माणको अभियानलाई अघि बढाएको जानकारी दिए।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ। अझ चावहिल चोकका बाटो फराकिलो भए पनि अत्याधिक जाम हुने ठाउँ हो,’ उनले भने, ‘स्थानीयको मागअनुसार चावहिल चोकमा यसअघि पनि आकाशे पुल निर्माण सम्पन्न भएको छ। अहिले फेरि चक्रपथ ओरोलोतिर थप एउटा पुलको माग भएपछि आज यो पुलको शिलान्यास गरेको हो।’
त्यस्तै मेयर शाक्यले आजै मित्रपार्कमा पनि अर्को पुलको शिलान्यास गरेको जानकारी दिदै भनेका छन्, ‘जयबागेश्वरीको पुलको काम पनि अघि बढेको छ। यसरी हेर्दा यो क्षेत्रमा मात्रै हामीले चारवटा पुल निर्माण गर्दैछौँ।’
उनले सडक दुर्घटना कम गर्न र पैदलयात्रीलाई आवतजावतमा सहज हुने भएकाले बढी भिडभाड र दुर्घटना हुने स्थानमा पुल निर्माणको अभियान चलाएको जानकारी दिए।‘यो बाहेक पनि हामीले अन्य स्थानमा आकाशेपुल निर्माणको काम अघि बढाएको छौँ,’ प्रमुख शाक्यले भने ‘माइतीघरमा हामीले निर्माण गरेको पुल अहिले सञ्चालनमा छ। अन्य ठाउँका लागि पनि हामीले ड्रोइङ-डिजाइनको काम गरिरहेका छौँ।’
त्यसैगरी महानगरले खोला तर्ने र वडा जोड्ने गरी पनि पैदलयात्री आकाशेपुल बनाउने योजना अघि बढाएको बताए।
पछिल्लो समय महानगरले ट्रष्ट र स्टील संरचनाका आकाशेपुल निर्माणमा जोड दिएको छ। आवश्यकताअनुसार कुनै पनि तोडफोड नगरी अन्य ठाउँमा पुनः प्रयोग गर्न मिल्ने भएकाले पछिल्लो समय यस्ता पुल निर्माणमा जोड दिएको हो। अहिलेसम्म यस्तो पुल तीनवटा निर्माण भइसकेको र एउटा अन्तिम चरणमा रहेको छ। यो वर्ष थप तीनवटा पुल निर्माण गर्ने तयारी रहेको महानगरपालिकाले जनाएको छ।
चावहिल र मित्रपार्कमा बन्न लागेका दुई पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रहेको छ।