नेपालस्थित अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ। कोभिड-१९ संक्रमणको बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै दुतावासले गत बुधबार सम्मान गरेको हो।
लकडाउन समयमा बोर्डले उद्धार उडानमार्फत (रिपाट्रिएशन फ्लाइट) आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दूतावासले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै बोर्डलाई यो सम्मान प्रदान गरिएको दूतावासले जनाएको छ।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल र अमेरिकाबीच लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधै सहयोग गर्ने समेत बताए।
यस्तै, अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जले कोभिड-१९ को समयमा बोर्डले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै त्यसका लागि अमेरिकन नागरिकको तर्फबाट धन्यवाद ज्ञापन दिए।
दूतावासको सम्मानपछि प्रतिक्रिया दिँदै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मील भने, ‘निश्चय नै त्यो समय सम्पूर्ण विश्वकै लागि कठिन समय थियो। आफ्नो देशमा छरिएर रहेका पर्यटकलाई सुरक्षित रुपमा स्वदेश फर्काउन हाम्रा लागि पनि चुनौती थियो। यद्यपी सबैको सहयोग र समन्वयले हामीले त्यो काम गर्न सफल भयौं।’
जसकारण बोर्डले यो सम्मान र बेलायतमा ‘बेस्ट रेस्पोन्स टू दी प्यानडेमिक’ गोल्ड अवार्ड समेत प्राप्त गरेको हो। बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले दूतावासले प्रदान गरेको यो सम्मान नेपालको समग्र पर्यटन र नेपाली आतिथ्यताको सम्मान भएको बताए। उनले यस्ता सम्मानले बोर्ड र समग्र पर्यटन क्षेत्रलाई हौसाला प्रदान गर्नुका साथै थप जिम्मेवार बन्न समेत प्रेरित गर्ने जानकारी दिए।
सन् २०१९ बाट विश्वव्यापी रुपमा सुरू भएको कोभिड-१९ ले नेपालमा सन् २०२१ सम्ममा प्रभाव पार्यो। सो समयमा नेपाल पर्यटन बोर्डले ‘स्ट्रयान्डेड इन’ नेपाल अनलाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूको समन्वयमा र बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगहरूसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइटमार्फत करिब ५ हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो।
बोर्डले विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै यस अघि सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट (डब्लुटिएम) कै अवसरमा नेपालले ‘बेस्ट रेस्पोन्स टू दी प्यानडेमिक’ गोल्ड अवार्ड समेत प्राप्त गरेको थियो।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सचिव केदारबहादुर अधिकारीको नेतृत्व र मार्गनिर्देशन तथा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा), होटल एशोसिएसन नेपाल (हान), नेपाल माउन्टेरिङ एशोसिएसन (एनएमए), एयासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल र्याफिटिङ एजेन्सिज एशोसिएसनलगायतका पर्यटनसँग सम्बन्धित विभिन्न संस्था र बोर्डका कर्मचारीको सामूहिक प्रयासबाट उक्त काम गरिएको थियो।