मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्याङक सार्वजनिक भएको छ।
आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको वैदेशिक व्यापार आयात तथा निर्यातको अवस्था सार्वजनिक गर्दै मुलुक चरम व्यापार घाटामा गएको जानकारी गराएको हो।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेको छ। यसरी ६ महिनामा ४६.६४ प्रतिशतले नेपालको वैदेशिक व्यापार घाटा भएर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ।
गत वर्षको सोही अवधिमा व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाखको भएको थियो। एक वर्षको अवधिमा २ अर्ब ८० अर्ब ४ करोड ५६ लाख रुपैयाँले व्यापार घाटा वृद्धि भएको छ।
भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको वैदेशिक व्यापार ५४.८६ प्रतिशतले वृद्धि भएर ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख पुगेको छ।
गत वर्षको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक व्यापार भएको थियो। त्यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा आयात र निर्यात दुबैमा वृद्धि भएको छ।
पछिल्लो ६ महिनामा नेपालमा विभिन्न वस्तु तथा सेवा आयात ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात भएको थियो।
यसरी गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षको ६ महिनामा ५९ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालबाट निर्यात हुने वस्तु तथा सेवामा १ खर्ब १८ अर्ब ८५ करोडको निर्यात गरेको छ। गत आर्थिक वर्षमा यस्तो निर्यात ६० अर्ब ७९ करोड ९२ लाख गरिएको थियो। यो निर्यात गत वर्षको भन्दा ९५.४८ प्रतिशतले वृद्धि भएको छ।
चालू आर्थिक वर्षको ६ महिनामा नेपालमा १४८ देशबाट विभिन्न वस्तु तथा सेवा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको आयात गरिएको छ। पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट सामान आयात भएको भन्सार विभागको तथ्याङकले देखाएको छ।
यसरी सो अवधिमा भारतबाट ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लाखको सामान आयात भएको छ। त्यस्तै, भारतपछि सबैभन्दा धेरै समान आयात चीनबाट भएको छ। चालू आर्थिक वर्षको ६ महिनामा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ।
नेपालको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.३७ प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १०.६३ प्रतिशत रहेको छ। यसरी आयात बढ्दै जाँदा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हाल ७.५ महिनाको लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको छ।
नेपालले दुई छिमेकी मुलुकबाट यतिधेरै वस्तु आयात गरेता पनि नेपालबाट भारत र चीनमा एकदमै थोरै मात्र सामान निर्यात भएको छ। पछिल्लो ६ महिनाको अवधिमा नेपालले भारतमा ९६ अर्ब ५६ करोड तथा चीनबाट ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ।
चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा डिजेलको आयात सबैभन्दा धेरै रहेको छ। डिजेल पछिल्लो ६ महिनामा ६१ अर्ब ४७ करोड रुपैयाँ बराबरको आयात भएको छ। त्यस्तै, पेट्रोल २९ अर्ब २७ करोड रुपैयाँका बराबरको आयात भएको छ भने सोयाविन तेल ३६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ। जसमा २९ अर्ब २३ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्याँस आयात भएको छ। २७ अर्ब ४९ करोड रुपैयाँको पाम तेल आयात भएको छ।
यस्तै, निर्याततर्फ पनि सोयाविन तेल र पाम तेलको हिस्सा धेरै रहेको छ। प्रशोधन गरिएको पाम तेल ११ अर्बभन्दा बढीको निर्यात भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँभन्दा धेरैको निर्यात भन्सार विभागले जनाएको छ।
भन्सार विभागको तथ्याङकले वैदेशिक व्यापार घाटा बढेको देखाएको छ भने यस अगाडि नेपाल राष्ट्र बैंकले समग्र मुलुकको वित्तीय विवरण अनुसार अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन्।
मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। रेमिट्यान्स लगातार घटिरहेको छ ।