साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन्।
विजनेश ग्रोथ कम्पनी प्रालिद्धारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने हुन्। यसमा अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउनेछन्।
मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका हुन्।
पछिल्लो समय लोकप्रिय साहारा एपले आफ्ना ग्राहक तथा राइडरहरूलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए।
अस्पतालका बजार प्रबन्धक श्रीकृष्णले अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमि हुन नदिने स्पष्ट पारे। 'आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन्,' उनले भने।
कम्पनीकाअनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरहरूले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउनेछन्।
कम्पनीले यसअघि अजोड इन्स्योरेन्ससँग इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको थियो। उक्त सम्झौताअनुसार ग्राहक तथा राइडरहरूले ६ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउनेछन्।