नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाले गैंडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो।
गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादव लगायतले कालीगण्डकी नदीमा बिहीबार माछाका भुरा छाडेका हुन्।
मधेश प्रदेशको ह्याचरीमा उत्पादन भएका स्थानीय प्रजातिका माछाका भुरा कालीगण्डकी नदीमा पुगेर छाडिएको वरिष्ठ मत्स्य विकास अधिकृत यादवले बताए।
कार्यालयले यसअघि मकवानपुरको सामरी नदीमा पनि ३४ हजार तथा नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिसकेको यादवले बताए।
त्यस्तै, प्रदेश नं १ को कोसी नदीमा पनि ४० हजार माछाको भुरा छाड्ने योजना रहेको यादवले बताए।
‘खोलानालामा फोहर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदीजन्य पदार्थको चरम दोहन गर्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढ्दै गएको छ’, कार्यालय प्रमुख यादवले भने, ‘यी जलचरको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि कार्यालयले प्राकृतिक नदीमा लगेर माछाका भुरा छाड्दै आएको छ।’
माछाका भुरा नदीमा छाडेसँगै कार्यालयले गैंडाकोट–३ स्थित ढोंडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङ बोर्डसमेत लगाएको छ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडाको कार्यक्षेत्र सम्पूर्ण नेपाल रहेको भन्दै यादवले नदीनालाको अध्ययन गरी कुन माछा संकटमा छ त्यसका आधारमा माछालाई प्रवर्द्धन गर्न माछा भुरा छाडिँदै आएको बताए।
नेपालमा स्थानीय प्रजातिका २१७ प्रकारका माछा रहेको जनाउँदै यादवले नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कूल ९७ हजार मेट्रिक टन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने बताए।
नेपालको प्राकृतिक जलाशयमा चार लाख जनसंख्या निर्भर रहेको उनको भनाइ छ।