ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन्।
मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो।
सो अवसरमा मन्त्री भुसालले अस्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन्।
उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गरिन्।
नेपाल–अस्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ट्रेलियाको पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।
राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अस्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाइन्।
भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरिन्।
राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताइन्।