जुम्लामा २ सय ६५ किसानले गोठालो भत्ताका लागि आवेदन दिएका छन्।
कर्णाली प्रदेशका अनुसार गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन्। भेडापालक किसानलाई पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन आह्वान गरेको थियो।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि उनीहरूले आवेदन दिएका हुन्।
कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो।
कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ। उनले सो विषयमा जानकारी लिन कर्मचारी किसानको घर-घरमा खटाएको बताए। महतले प्रतिवेदन आएपछि भत्ता वितरण गरिने बताएका छन्।
महतका अनुसार पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सय रुपैयाँको दरले वितरण गरिनेछ।
जिल्लाका १ सय ५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम रहेको र रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिने महतले जानकारी दिए।
महतले उक्त कार्यक्रमका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको बताए।