सिनामंगलमा रहेको मिनवा म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोलीले छापा मारेको छ।
उक्त म्यानपावरले ठगी गरिरहेको सूचनाका आधारमा छापा मारिएको मन्त्रालयले जनाएको छ।
छानबिन टोलीले म्यानपावरका सञ्चालक हेमराज राइसहित तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।
कामको सिलसिलामा कतार जाने तयारीमा रहेका एक युवासँग म्यानपावरले एक लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा फेला पारी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरोमा लगिएको टोलीका संयोजक विष्णु लामिछानेले जानकारी दिए।
सरकारले तोकेभन्दा बढी रकम लिएको भन्ने सूचनाका आधारमा छापा मारिएको उनको भनाई छ। यस्ता सूचना पाए अरु म्यानपावरहरुमा पनि छापा मार्ने उनले बताए।
सरकारले खाडी तथा मलेसियामा रोजगारीका लागि जानेसँग सेवाशुल्क बापत म्यानपावरले अधिकतम १० हजार रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको छ। तर अधिकांश म्यानपावरले मोटो रकम असुल्ने गरेका छन्। यसमा सरकारले पनि कडाई गर्न सकेको छैन।