बितेको २४ घण्टामा काभ्रेपलाञ्चोकका २१ जनामा कोरोना संक्रमण देखिँदा १०६ संक्रमणमुक्त भए।
अघिल्लो दिन २८ जनामा संक्रमण हुँदा ३१५ संक्रमणमुक्त भएका थिए। यस्तै, मंगलबार ६३ मा संक्रमण हुँदा १२२ जनालाई निको भयो।
माघको तेस्रो साता लाग्दै गर्दा संक्रमणदर ओरालो र संक्रमणमुक्त हुनेको संख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तंग्रिनेमा आशावादी देखिएका छन्।
कोरोना संक्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दुःखेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ट प्रिन्सकी सञ्चालक ज्योत्स्ना सैंजू कोरोना संक्रमणदर ओरालो र संक्रमणमुक्त हुनेको संख्या उकालो लागिरहँदा होटल व्यवसाय तङ्ग्रनेमा आशावादी बन्दै गएको बताउँछिन्।
‘यो हप्ताको तथ्यांकले होटल-पर्यटनलाई तङ्ग्राउने देखिन्छ, आशावादी बन्नैपर्यो’, क्षेत्रीय होटल संघ(हान)को सचिवसमेत रहेका सैंजूले भनिन्।
उनी कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने बताउँछिन्।
सैंजूका अनुसार कोरोना संक्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन्।
‘होटल निर्माणको ब्याज तथा घरभाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुपर्यो, नयाँ व्यवसायीलाई यो पेशामा निकै चुनौतीपूर्ण छ’, उनले भनिन्।
बीस कोठा क्षमता रहेको उनको होटलमा केही दिनदेखि स्वास्थ्य मापदण्ड अपनाएर पाहुनालाई सेवा प्रदान गर्न थालिएको छ। जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ।
हाल यहाँ ५३५ सक्रिय संक्रमित छन्।
नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्मले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन्।
‘आन्तिरिक पर्यटकमात्रै धुलिखेल आउनुहुन्छ, अब त यसैलाई सन्तोषजनक मान्नुपर्ने बाध्यता भइसक्यो’, धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले भने।
तेस्रो लहरको उत्तरार्द्धमा आफ्नो होटलमा चहलपहल बढ्न थाल्नेमा प्याकुरेल ढुक्क देखिएका छन्।
एक वर्ष नबित्दै आएको तेस्रो लहरले पहिलेकै चिन्ताले उनमा ‘डेरा’ जमाइसकेको छ।
‘व्यवसायले रूप फेर्लाझैं लागेको थियो, कोरोना तेस्रो लहरको पुनः थप धरासायी बनाइदियो’, प्याकुरेलले भने।
पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन्।
धुलिखेलको होटल-पर्यटनमा मात्रै करिब ५० अर्ब रुपैयाँको लगानी रहेको संघले जनायो। यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे।
पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौंबाट करिब ३० किलोमिटरको दूरीमा छ।
गत पुसदेखि तेस्रो लहर सुरू भएसँगै धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए। पुस र माघमा होटल ठप्पप्रायः नै रहेको व्यवसायी बताउँछन्।
कोरोनाको जोखिमले पटक–पटक होटल बन्द गर्नुपर्ने कारणले व्यवसायमा घाटा व्यहोरिरहनुपरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए।
‘कोरोनाको जोखिमले होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए’, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले दुःखेसो पोखे।
दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि शून्यमै झरेको श्रेष्ठले बताए।
उनले भने, ‘अब होटलमा आउने आन्तरिक पर्यटकमात्रै हुन्, कोरोना संक्रमण नरोकिएसम्म विदेशी पाहुनाको चहलपहल नहोलाजस्तो छ।’
कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन निकै हम्मेहम्मे पर्नेमा व्यवसायी चिन्तित देखिएका छन्।
‘अब स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणतर्फ लाग्नुको विकल्प छैन’, श्रेष्ठले गुनासो गरे।
सङ्घले यसअघि धुलिखेलको पर्यटन प्रवर्द्धनार्थ ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो।
साथै जीपलाइनिङ, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो।
सङ्घले पुनः प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरले प्रभावित बनेको देखिएको छ।
‘हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सक्छौं, यो पनि बन्द नहोस् भन्ने चाहन्छौं’ सैंजू भन्छिन्।