अन्तर्राष्ट्रिय चेन सलुन 'हेयर एण्ड शान्ति युनिसेक्स सलुन' को २७ औं शाखा काठमाडौंको दरबारमार्गस्थित दरबार मलको पहिलो तल्लामा सुरू भएको छ।
सलुनको नेपाल उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष भवानी राणा र कलाकार किरण केसी (राता मकै) ले उद्घाटन गरेका हुन्।
नेपालको १० औं शाखा रहेको युनिसेक्स सलुनमा हेयर कट, हेयर कलर, नेल आर्ट, आइलेसिस एक्स्टेन्सन, मेक अप, मेनिकेयर,पेडिकेयर लगायतको सेवा उपलब्ध भएको सञ्चालक सरू थापाले बताइन्।
सलुनको नयाँ शाखा १४ सय वर्गफिट फराकिलो छ। आरामदायी सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि सुरू गरिएको सलुनमा मेनिकेयर, पेडिकेयर, हेयर वास मसाज चियरमा गरिने थापाले बताइन्।
व्यवसायीहरू सरू थापा, दुर्गाप्रसाद सुवेदी, रोशन श्रेष्ठ, अनुजा श्रेष्ठले दुई करोड लगानीमा सलुन सुरू गरेका हुन्।
ग्राहकको छाला र कपालको संवेदनशीलतामा ख्याल गर्दै विश्व विख्यात सौन्दर्य प्रशाधनको प्रयोग गरिने सञ्चालकको दाबी छ।
२२ वर्ष अगाडि चितवनकी शान्ति श्रेष्ठले भारतमा हेयर एण्ड शान्ति युनिसेक्स सलुनको सुरूआत गरेकी हुन्।